तिमीले छोयौ
चोखिएँ
यो चोखिनु –
बाह्र वर्षे बाक्लो निद्रापछि ब्यूँझेर
सुनकेशरी रानी शीतल, सुगन्धित सरोवरमा नुहाउनु हो,
अनुभूतिका असंख्य असंख्य असर्फीलाई
मुटुको कन्तुरमा खुत्रुक खुत्रुक खसाल्नु हो,
किनार किनार सयपत्री र गोदावरी फूलका
नागबेलीबाट गुज्रनु हो,
आस्थाको जलप लगाएको जलहरीबाट
एक एक थोपा विश्वास तप तप तप्किनु हो ।
तिमीले छोयौ
चोखिएँ
यो चोखिनु –
औँसीको रात जुनेलीमा पखालिनु हो,
निरन्तर बगिरहन बागमतीका लहर लहरमा
जूनको झरबाट स्वर्णिम किरणहरू झर्नु हो,
ती सुनौला सम्मिश्रणलाई स्निग्ध सुन्दरीले
आफ्ना सुकुमारी आङमा खनाउनलाई
गाग्रामा उघाउँदै भर्नु हो,
थाहा छैन
यी समस्त समवेत स्पर्शबाट
जून चोखिएको छ,
बागमती चोखिएकी छ, अथवा स्निग्ध सुन्दरी !
तिमीले छोयौ
चोखिएँ
यो चोखिनु –
रामको स्पर्शबाट शीलापत्थर गौतमी बन्नु हो,
शबरीको जुठो बयरबाट
मर्यादा पुरुषोत्तम रामको मुख-शुद्धी हुनु हो,
तर थाहा छैन –
प्रकाण्ड विद्वान्हरूले यसलाई व्याख्या गर्लान् कसरी –
अक्षय-भक्तिबाट राम चोखिएका छन्, अथवा सवरी !
०००