आकाशलाई जितेर
कुनाकुना बगिरहेको बतासले
रगतका छिर्काहरू बोकी
हारेर जम्नेछ,
इन्द्रेणीका रङहरूमा
मात्रै एउटा रङ हुनेछ
मेरो रगतको, मेरो विघातको,
मलाई अनन्त समयसम्म
यी साधकहरू बचाउनु छ
यो ब्रम्हाण्डको सौन्दर्य
फगत जिउनुमा अडेको छ,
त्यसैले म आत्महत्या गर्दिनँ ।
यी आँखाले
मलाई आमा चिनाएका छन्,
यात्रामा आजसम्म
यही जिन्दगी
कुद्दै उफ्रँदै लड्दै उठ्दै
हाँस्दै रुँदै
सँगसँगै त आएको छ,
यो नआएदेखि
तिम्रो सपनाको प्रचेष्टा
कहाँ जन्मन्थ्यो ? कहाँ मर्थ्यो ?
यो चेतन स्वर्ग
कुन अँध्यारोले भोग्थ्यो ?
मृत्यु त
सामना गरेपछि डराउँछ,
या ऊ
मुक्तिको अनिवार्य द्वार हो
आफैँ खुल्छ,
चिरेर चलिरहेको नशा
निचोरेर शिरस्थ गर्दन
निलेर बिषैलो जलन
छि ! मृत्युको किन अपमान गर्नु ?
उसको श्रद्धेय आगमनसम्म
यो सृष्टिको चाँदनी पिइरहन्छु म
दागसमेत औँसीसमेत !
यो अतृप्ति नै अगाध न्यायिक छ,
म प्राणलाई अन्याय गर्दिनँ,
म आत्महत्या गर्दिनँ ।
०००
........................................................
यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।