3,252 bytes added,
06:36, 24 अगस्त 2023 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=निर्मला पुतुल
|अनुवादक=सुमन पोखरेल
|संग्रह=
}}
{{KKCatKavita}}
<poem>
के तिमीलाई थाह छ
पुरुषको जस्तोभन्दा बेग्लै
एउटी स्त्रीको एकान्तका बारेमा ?
घर, प्रेम र जातिभन्दा अलग्गै
एउटी स्त्रीलाई उसको आफ्नो ठाउँका बारे
बताउन सक्छौ तिमी ?
बताउन सक्छौ
सदियौँदेखि आफ्नो घर खोजिरहेकी
एउटी बेचैन स्त्रीलाई
उसको घरको ठेगाना ?
के तिमीलाई थाह छ
आफ्ना कल्पनामा
कसरी एउटै समयमा
आफूलाई स्थापित र निर्वासित
गरिरहेकी हुन्छे एउटी स्त्री ?
सपनामा दौडिँदै गरेकी
एउटी स्त्रीलाई पछ्याउँदै
कहिल्यै देखेका छौ तिमीले उसलाई
नातासम्बन्धको कुरुक्षेत्रमा
आफैँसँग युद्ध गर्दै गरेकी ?
शरीरको भूगोलबाट पर
एउटी स्त्रीका
मनका गाँठाहरू खोलेर
कहिल्यै पढेका छौ तिमीले
ऊभित्रका उम्लिरहेका इतिहासलाई ?
पढेका छौ कहिल्यै
उसको मौनताको सङघारमा बसेर
शब्दको प्रतीक्षा गरिरहेको
उसको अनुहारलाई ?
ऊभित्र वंशको बीऊ खन्याउँदै गर्दा
के तिमीले कहिल्यै अनुभूत गरेका छौ
उसका फैलिँदै गरेका जराहरूलाई आफूभित्र ?
के तिमीलाई थाह छ
एउटी स्त्रीका सम्पूर्ण नातासम्बन्धको व्याकरण?
बताउन सक्छौ तिमी
एउटी स्त्रीलाई स्त्री-दृष्टिबाट हेरेर
उसको स्त्रीत्वको परिभाषा ?
सक्दैनौ भने
के चाहिँ थाह छ त, तिमीलाई
भान्सा र ओच्छ्यानको गणितभन्दा पर
एउटी स्त्रीका बारेमा...?
......................................................................
'''[[क्या तुम जानते हो / निर्मला पुतुल |इस कविता का मूल हिन्दी पढ़ने के लिए यहाँ क्लिक करें ।]]'''
</poem>