भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

के तिमीलाई थाह छ ? / निर्मला पुतुल / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

के तिमीलाई थाह छ
पुरुषको जस्तोभन्दा बेग्लै
एउटी स्त्रीको एकान्तका बारेमा ?

घर, प्रेम र जातिभन्दा अलग्गै
एउटी स्त्रीलाई उसको आफ्नो ठाउँका बारे
बताउन सक्छौ तिमी ?

बताउन सक्छौ
सदियौँदेखि आफ्नो घर खोजिरहेकी
एउटी बेचैन स्त्रीलाई
उसको घरको ठेगाना ?

के तिमीलाई थाह छ
आफ्ना कल्पनामा
कसरी एउटै समयमा
आफूलाई स्थापित र निर्वासित
गरिरहेकी हुन्छे एउटी स्त्री ?

सपनामा दौडिँदै गरेकी
एउटी स्त्रीलाई पछ्याउँदै
कहिल्यै देखेका छौ तिमीले उसलाई
नातासम्बन्धको कुरुक्षेत्रमा
आफैँसँग युद्ध गर्दै गरेकी ?

शरीरको भूगोलबाट पर
एउटी स्त्रीका
मनका गाँठाहरू खोलेर
कहिल्यै पढेका छौ तिमीले
ऊभित्रका उम्लिरहेका इतिहासलाई ?

पढेका छौ कहिल्यै
उसको मौनताको सङघारमा बसेर
शब्दको प्रतीक्षा गरिरहेको
उसको अनुहारलाई ?

ऊभित्र वंशको बीऊ खन्याउँदै गर्दा
के तिमीले कहिल्यै अनुभूत गरेका छौ
उसका फैलिँदै गरेका जराहरूलाई आफूभित्र ?

के तिमीलाई थाह छ
एउटी स्त्रीका सम्पूर्ण नातासम्बन्धको व्याकरण?
बताउन सक्छौ तिमी
एउटी स्त्रीलाई स्त्री-दृष्टिबाट हेरेर
उसको स्त्रीत्वको परिभाषा ?

सक्दैनौ भने
के चाहिँ थाह छ त, तिमीलाई
भान्सा र ओच्छ्यानको गणितभन्दा पर
एउटी स्त्रीका बारेमा...?

......................................................................
इस कविता का मूल हिन्दी पढ़ने के लिए यहाँ क्लिक करें ।