मैले गाएका गीतका पङ्कतिहरू / ईश्वरवल्लभ
मेरो आश्वासन पनि नपाएका ती अग्लाइहरूलाई
होच्याउँदै छन् क्षितिजले
बिनाअर्थ फुलिरहेका फूललाई जस्तै कि
हावालाई चुँडिएर बगेका
स्वप्नमग्न हुँदैनन् अन्धकारलाई
एक अँजुली पानी पिएर मुठा-साग जस्तै
बहुला भएका रुखका पाङ्ग्राहरू उर्लिन्छन् कि भन्दै छु
मेरा म्यूजहरूसित
क्रुस बोकेर हिँडिरहेको पाइला त्यही हो
भएको जब आगो बलिसक्छ
विद्रोहको निम्ति गुराँसका पानी छेक्छन् तरेलीमा चिसो गर्दै
आउन नसकेका अँध्याराहरूलाई क्षितिजबाट बोलाउँछन्
पहेँला टाटाहरू
केही पनि भन्दैनन् मेरा कथाहरूमा बेस्याहार रेखाहरूले पनि
हरेक कोठालाई फलैँचामा बिसाउँदै
हरेक मैले आएको हुन सक्छ गहिरा दोबाटोतिर
टाउका बग्ने नदीतिर किनार किनारलाई पट्याउँदै
शायद गएको ठाउँ नदी भैसकेको छ, बकैनाका पात भएर
म सिउँडी फूलसित प्रेमालाप भैरहेको पहेँलो बेलामा
माघको चिसो पर्दा लागेको पनि हुँदो हो,
माउसुली र काकुराले किडेका भित्ता बन्द गर्दैछु भन्दै
काठका खोपेका आकाशमा मासु अवयव सडकका
बिहानदेखिन् बेलुकीसम्म पनि फैलिन सकेको होओइन जाल
म सिउँडी फूलसित प्रेमालाप भैरहेको पहेँलो बेलामा
बुटा-बुटाका हाँगालाई निधारमा तेर्सो खोप्नेलाई बधाई ।
सिलहट तैयार भएका हुँदा हुन् तैपनि गएनन् सोझा पाइलाहरू
दिनको तातो पनि छन्
उज्यालोको आँखा हुन्छन्
जहिलेसुकै एउटा धरहरा उभिएको इतिहासका पृष्ठमा
सिँगारिएका गर्धन मात्र अचानुको निम्ति यहाँ, बधाई ।
यस बेला हामीसित बधाई र उपहारका सामग्री छन्
अस्तव्यस्ततालाई दिन सक्छौ म पानी भरिएको ठाउँमा
दोबाटोको रमाइलो बेलातिर अग्रसर बाँधिएका खुट्टा छन्
फगत एउटा सत्यलाई पिँजरामा बन्द हुन दिन
फगत एउटा क्यानभासलाई केही भोलिका रङ्ग दिन
सबै सत्ता र अस्तित्व जम्मा हुन्छन् यहाँ ।
कोलाहल पनि होइन साउती पनि होइन यी आवाजका
रङ्ग उडेका छन्
घाउ जस्तै दुख्ने गरी खुम्चिएका बैँस र सुन्दरता
तिमीलाई एउटा धर्मग्रन्थ दिने मेरो विचारलाई
फगत काँचुलीभित्र बन्द गरिदिन उसले छोडेको,
गोधूलिका टापु उभ्याएर प्रवचन दिनेहरूलाई क्षोभ र कुण्ठा देऊ
फ्याँकिन एउटा मैलो तन्ना जस्तो वेश्याले रातभरि सुतेको अरूसित
खोर पनि हो यो सिनो जम्मा हुने
ईश्वरले विश्वास मागेको छ, छोरा बलि देऊ अब्राहम,
आगो सल्काउनु पनि पर्दैन एउटा युग यसरी समाप्त गर्न
मेम्ना चाहिँदैन
भेडा चाहिँदैन हलेलूया !
पर्खाल फोर्न खोज्छन् भने पनि केही नभन्नू
कैयौँ पाइलालाई रोकेको छ छेक्दै गोरेटोमा
आज बुट र पाङ्ग्राका डोब फ्याँक्न खोज्नेलाई नभन्नू
यिनले टेकेको छ पहाड छातीमा
ती छाया अचेल हुँदै छन् यहाँ अग्ला चुचुरा होइनन् भने पनि
त्यहाँ देवताहरू सुत्छन् पालैपालो जिस्किँदै गीतमा
हिजो केफे रेस्टुराँमा फैलिएका सङ्गीतमा
कलिला पाइलाहरूलाई नखोज्नु, सान्ताक्लुजसित गएका छन्
केही छन् भने पनि ती त ओरालो र उकालो हुन्
समुद्रमा भइरहने
भइरहने कि छालाहरूमा भर्खर चिसो कीला टाँगिएका
अस्तित्वहीन रगतका फाल्सा जिउँदै छन्, तैपनि
एउटा सपना नभन्नू देउताका समक्ष
बलि चढिसकेका यी मानिसका घाँटीहरूलाई
अँगेनामा गन्हाउने पोलिँदै गएको यो युगसित सम्बन्ध छैन,
मात्र एउटा ढुङ्गा छ
म त्यसै मन्तिर छु
तिम्रा जोवनहरू, सपनाहरू खोलाहरू गाउँदा
पटयाइ लागेको पनि छ,
परिवेशका पोथ्रालाई गाइनेले गाएका छैनन्
कलिला हातले कहीँ पनि मागेका छैनन्
तिनमा शायद घाउ लागेको पनि छ, कि ठूलो पर्खाल जस्तो
मैले टुँडिखेलमा थुनिएकोलाई जोगाएर कि उत्सव हेरेँ
व्यर्थै भन्दै यो बार किन भाँच्चिएन
भाँच्चिनुपर्छ हरेक बारले बग्न स्वतन्त्र हुन
रगतका रेखा लागेका पनि त छन् तिमीले हेरेनौ
यहाँ सधैँ एउटा गरुड आहारा खान आउन बाध्य छ
यहाँ एउटा मृत्यु सधैँ उसले गराउन बाध्य छ उसलाई मार्दै
यहाँ ओडार च्यात्तिएका देखा पर्छन्
उग्राउँछन् अल्छीलाग्दा पशुहरू प्लेटफर्मभरि
खाएर सूर्य र चन्द्रमा पनि
भूमि र मृत्युमा विश्वास नभएर केही भएको छैन,
तिनले मलाई गिज्याएका पनि छन्
हुन त छहारीमा बलपुरगिसनिट कहाँ हुन पाएको छ ?
रगत पिउने चर्चा हुँदा हुन् नाङ्गा बैँसहरूमा
विमर्श सकिएका पनि छैनन् ती राता हावाहरूमा
तिनले मलाई हरेक दिनभरि र रातभरि मारेका पनि छन्
मेरा निम्ति छाडेर गएका फूल र बेँसीहरू खोसेका छन्
यसैले मलाई ईश्वरपूजा गरिदनि मन लाग्छ
केही गैँडाका छालाहरूको निम्ति र केही रुखका बोक्राका निम्ति
हत्केला खुम्च्याउने र फैलाउने दिक्मा म बन्द छु ।