4,020 bytes added,
12 सितम्बर {{KKGlobal}}
{{KKRachna
|रचनाकार=मौन आवाज
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
घाम डुब्नु र चुहिनु पातमा -
तप्प !
एकथोपा आँशु
यो कुनै ठूलो घटना होइन ।
विचारको जङ्गलमा जे जति हराएको छ
त्यो हावाले टिपेर लगेको छ ।
विधवा आइमाई माइती जाँदै गरेको बेला
जुन बाटोले छेक्यो उनको पाईताला
र उनको आँखामा जसले छ्याप्यो तुवाँलो
अहिले त्यो मौन छ ।
स्कुले विद्यार्थी किताब च्यापेर
जुन बाटो हिँड्यो
र फर्केर आएन
त्यो बाटो अहिले मौन छ ।
जसरी मौन छ यो राष्ट्रको सरकार
जसरी मौन छ हत्यारा
र जसरी मौन छ अघाएका मान्छेहरू !
पानी पर्नु -
र पातमा ठोक्किएर चक्नाचुर हुनु सपना
यो कुनै ठूलो दुर्घटना होइन ।
समयले उठाउँदै लगेको मुचुल्कामा
दस्तखत गर्न एकसे एक मुर्दाहरू जीवित छन् !
लासहरूमाथि उभिएको उन्मत्त सत्ता -
निरिहहरूको काँधमा चढेर फर्मान जारी गरिरहेको छ -
अबदेखि
खुट्टा नबोक्नु यात्रामा खतरा छ !
मस्तिष्क नबोक्नु टाउकोमा
छलफलमा भाग नलिनू खतरा छ
खतरा छ केहि सोच्नू !
न्याय नखोज्नू खतरा छ !
माछा हुनू
र हाजिर हुनू टेबुलमा ।
बरु - उफ्रनू भ्यागुतो
र कुवामा खस्नू ।
नलगाउनू कालो वस्त्र
बरु - नांगो हुनू ।
बरु - गएर कतै समाप्त हुनू
देखा नपर्नू यो भूगोलको वरपर ।
खाली पेट
सबैभन्दा खतरनाक हुन्छ निरंकुश व्यवस्थामा ।
जसरी चुहिनु
तप्प !
अभावको छानोबाट उत्तेजना
र हिँड्नु विरोधमा लस्कर ।
विचारको जङ्गलमा आगो लाग्नु र
ठिक दिशातिर हावा नचल्नु
- मौन बस्नु चिरा परेको धर्ती !
आमाहरूको अस्मिता डाँकुहरूले लुट्नु
दलालहरूले खरिद गर्नु मान्छेहरूको आवाज
र चुपचाप गएर बस्नु सबै चेतना जङ्गलमा !
मलाई शङ्का लागेको छ
मेरो देशबाटै मेरो देश अपहरणमा परेको छ ।
अब
गएर जङ्गलमा मान्छे खोज्नु छ
मुक्त गर्नुछ -
जङ्गलबाट मान्छेको विचार !
र मुक्त गर्नुछ -
मौनताको कठघराबाट सम्पूर्ण कैदीहरूलाई !
०००
</poem>