Last modified on 23 जुलाई 2017, at 16:38

समय सधैँ आइरहन्छ / भीमदर्शन रोका


वरिपरि छेउछाउबाट

सजिला र अप्ठयारा ठाउँहरुबाट
वन पाखा पहरा
र हलुका सुस्केराहरुबाट

आइरहन्छ
समय सधैँ आइरहन्छ ।

पानी पानीमा बगेर
पात पातमा मस्केर
ऋतुहरुको आगमन
र तिम्रो आवाजबाट

आइरहन्छ
समय सधैँ आइरहन्छ ।

केही भन्न छुन्छमलाई
केही बेर सुनिरहन्छ मलाई
मेरो श्वासमा लुटपुटिएर
मेरो क्षणहरुलाई लिएर

गइरहन्छ
समय सधैँ गइरहन्छ ।

मबाट उठेर
फैलिँदै माथि पुगेर
नीलो आकाश बनिरहन्छ
त्यही नै मेरो अतीत हुन्छ ।

० ० ०