Last modified on 14 मई 2015, at 10:01

बिसे नगर्चीको बयान / श्रवण मुकारुङ

Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 10:01, 14 मई 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्रवण मुकारुङ |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मालिक!
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ?
कहाँनिर छ बिसे नगर्ची?
मालिक!
म बौलाएँ।
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अढाई सय वर्षपछि आज के भयो मलाई?
यो बिसेलाई दशा लाग्यो मालिक!
म बौलाएँ।
नाथे मेरी स्वास्नी न हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाइएको
यतिमै यो बिसे उफ्रिनुपर्ने? थुइक्क बिसे...।
म बौलाएँ मालिक!
म बौलाएँ।
मेरो हात भाँचियो
अब म हजुरका भारदारहरूलाई लवेदा सिउन सक्दिनँ
नर्सिङ्गा फुक्न/सनाई बजाउन
अथवा कुनै मङ्गलगान वा मृत्युगीत गाउन सक्दिनँ
मेरो खुट्टा भाँचियो
अब म हजुरको राज्यको पहरा गर्न सक्दिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठिक्कले बोल्न सक्दिनँ
मालिक! म बौलाएँ।
मालिक!
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्ला अग्ला पहाडहरू
आज कसरी यस्तरी होचाहोचा भए?
हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरू
आज कसरी यस्तरी खुनी र कुरूप भए?
यो दरौँदी किन उल्टो बगेको देख्छु?
यो दरबारै किन खण्डहरजस्तो देख्छु?
म बौलाएँ मालिक! म बौलाएँ।
मालिक!
हजुरको तरबारले टाउको काट्छ कि फूल?
भ्रममा परेँ म
हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे?
भ्रममा परेँ म
यस राज्यलाई प्रजाले बनायो कि राजाले?
भ्रममा परेँ म
अढाई सय वर्षदेखि म तपाईंसमक्ष छु मालिक!
म कसरी आतङ्ककारी हुनसक्छु?
म केवल बौलाएँ मालिक!
बौलाएँ।
हो, मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको हुँ भनेँ हुँला
भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनेँ हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरेँ हुँला
मालिक!
मान्छे बौलाएपछि आफैँसित पनि निहुँ खोज्दोरहेछ
अढाई सय वर्षदेखि मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दरसन्तानहरू कहाँकहाँ पुगे?
मैले खोज्न चाहेँ हुँला
मेरा औँलामा खोपिएका छ्यान्द्रा र बगेका रगतहरूले मलाई उक्सायो
तरबारले आर्जेको मुलुकभन्दा
मैले धागोले उनेको मुलुक विशाल ठानेँ हुँला
मालिक!
यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुन सक्छु?
म साँच्चै बौलाएँ मालिक!
साँच्चै बौलाएँ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ?
कहाँनिर छ बिसे नगर्ची?
मालिक! म बौलाएँ ।