कसमस कोनिया / श्यामल
गुडबाई कोनिया,
फेरि भेटौँला।
फेरि भेट हुनुअघि
ओहो, केही ठेगान छैन
के–के हुने हो
तिम्रो–मेरो फेरि भेट हुनुअघि,
सरकारले दिएको पानीले
म मर्न सक्छु
म मर्न सक्छु,
बजारमा राखिएका विषाक्त औषधिहरुले
पुस्तक पसलमा सजाइएका
कानुनका किताबहरुमा
लेखिएको छ मृत्युदण्ड!
आफ्नो कोटको खल्तीभित्र लुकाएको छ
सरकारले ‘मृत्यु’
डलरझैँ, बिलकुल डलरझैँ
यद्यपि तिम्रो शुभकामना लिएको छु
कोनिया, म गायब हुन सक्छु
गुडबाई कोनिया,
फेरि भेटौँला।
फेरिन थालेका छन् मेरा शब्दहरु
निःशब्द उभिएका
क्रुद्ध जेलका अमानवीय ढोकाहरुमा
गएर बज्रनेछ
शब्दहरुको आवाज
ज्वरमग्न छु म
अग्निशमन गर्न असमर्थ
न्यू ओतानीको पच्चीसौँ तलाको
एउटा कोठामा।
गुडबाई कोनिया,
फेरि भेटौँला।
उदाङ्ग परेका रहस्यहरुमाझ
भित्तामा नारा कोर्दैछ एउटा युवक
परम्पराले हिर्काएर
छियाछिया भइसकेको उसको अनुहारमा
तिम्रो पनि अनुहार छ
डलरले हिर्काउँदा–हिर्काउँदै कुरुप पारेको
पपुआ न्यूगिनी झैँ
के भन्न सकिन्छ र
फेरि भेट हुनुअघि?
गुडबाई कोनिया,
फेरि भेटौँला।
खोज्दैछु अर्थहरु
कि देश भनेको के हो?
के हो प्रजातन्त्र?
पुलिसले चुट्दै लगेकी एक युवतीको
चिच्याहटमा लुकेको
कुनै कविताको शीर्षक के हो?
अर्थविहीन शब्दहरु विरुद्ध चालू छ युद्ध
चालू छ निरन्तर एक धर्मयुद्ध
म कहाँ छु कुन्नि, भयानक अग्निमा छु
जहाँ छु, म भाउन्नमा छु
कोनिया,
चलाख छ प्रजातन्त्रको बन्दुक
हाम्रो भेट हुनुअघि
म निदाउन सक्छु।
गुडबाई कोनिया,
सँसारको कुनै पनि छेउमा
भरसक फेरि भेटौँला।