भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म आत्महत्या गर्दिनँ / ज्योति जङ्गल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:09, 1 सितम्बर 2024 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

आकाशलाई जितेर
कुनाकुना बगिरहेको बतासले
रगतका छिर्काहरू बोकी
हारेर जम्नेछ,
इन्द्रेणीका रङहरूमा
मात्रै एउटा रङ हुनेछ
मेरो रगतको, मेरो विघातको,
मलाई अनन्त समयसम्म
यी साधकहरू बचाउनु छ
यो ब्रम्हाण्डको सौन्दर्य
फगत जिउनुमा अडेको छ,
त्यसैले म आत्महत्या गर्दिनँ ।

यी आँखाले
मलाई आमा चिनाएका छन्,
यात्रामा आजसम्म
यही जिन्दगी
कुद्दै उफ्रँदै लड्दै उठ्दै
हाँस्दै रुँदै
सँगसँगै त आएको छ,
यो नआएदेखि
तिम्रो सपनाको प्रचेष्टा
कहाँ जन्मन्थ्यो ? कहाँ मर्थ्यो ?
यो चेतन स्वर्ग
कुन अँध्यारोले भोग्थ्यो ?

मृत्यु त
सामना गरेपछि डराउँछ,
या ऊ
मुक्तिको अनिवार्य द्वार हो
आफैँ खुल्छ,


चिरेर चलिरहेको नशा
निचोरेर शिरस्थ गर्दन
निलेर बिषैलो जलन
छि ! मृत्युको किन अपमान गर्नु ?

उसको श्रद्धेय आगमनसम्म
यो सृष्टिको चाँदनी पिइरहन्छु म
दागसमेत औँसीसमेत !

यो अतृप्ति नै अगाध न्यायिक छ,
म प्राणलाई अन्याय गर्दिनँ,
म आत्महत्या गर्दिनँ ।
०००

........................................................
यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।