भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तस्बिर / चन्द्र गुरुङ

Kavita Kosh से
Lalit Kumar (चर्चा | योगदान) द्वारा परिवर्तित 09:21, 4 दिसम्बर 2025 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=चन्द्र गुरुङ |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

मैले
जीवनभरिको कमाइले
यो सहरमा एउटा सुन्दर घर बनाएँ
सबैले तारिफ गरे–
वाह ! क्या विशाल घर ।

मैले
रातदिन मेहनत गरेर
अकुत धन जोडें र, एउटा कार किनें
सबैले ताली पड्काए–
वाह ! क्या सानदार कार ।

सधैं
एकोहोरो लागिरहें
थुप्रै धनार्जन गरें
सबैले भने–
वाह ! कति अपार सम्पत्ति ।

मैले
बहुमूल्य लुगागहनाले
आफूलाई सजाएँ र सिँगारें
सबैले प्रशंसा गरे–
वाह ! क्या राम्रो डिजाइन ।

मैले
आफ्नो सन्तानको बिहे–भतेरमा
इज्जतको लागि बगाएँ पानीसरह पैसा
सबैले मज्जा लिँदै भने –
वाह ! क्या भव्य पार्टी ।

र, आज–
मैले एक गरिब असहायलाई
मानवताको खामभित्र राखेर दिएँ न्यानो मुस्कान
हेर्दाहेर्दै
उसको मुटुको भित्तामा मेरो फोटो छापियो
वरिपरि सबैले भन्न थाले–
वाह ! क्या राम्रो तस्बिर ।