भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पहिरो / चन्द्र गुरुङ

Kavita Kosh से
Lalit Kumar (चर्चा | योगदान) द्वारा परिवर्तित 09:22, 4 दिसम्बर 2025 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=चन्द्र गुरुङ |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

हिजो राति
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ डाँडामाथिको गुम्बा
बगाएछ खोला–किनारको मन्दिर
बगाएछ गाउँमाझको मस्जिद ।

तर बिहान सबेरै
लामा गुरुले स्वार्थको ‘माने’ घुमाइरहेको देखेँ
पण्डित बाजेले छल–कपटको प्रसाद बाँडिरहेको भेटेँ
सुनेँ मौलवीले जातीयताको पर्खाल उभ्याएको ।
सायद
थुप्रै थुप्रै बेथितिलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

हिजो राति
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ साना–ठूला घरगोठहरू
बगाएछ गरिबका मन धान्ने हरिया खेतबारीहरू
बगाएछ असङ्ख्य चौपाया–दोपाया जीवनहरू ।
तर बिहान सबेरै
रामेको आँगनमा
घर बनाउँदा लागेको ऋण उठाउन
आइपुगेको साहूलाई भेटेँ
खेतबारीमा सपनाहरू रोपेका
किसानका आँखामा आँसु र व्यथा देखेँ ।
हर घर–आँगनमा
मात्र मृत्यु पल्टेको सुनेँ ।
सायद
थुप्रै थुप्रै बेथितिलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

हिजो राति
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ गोदाममा सुतिरहेका अन्नका बोराहरू
बगाएछ खेतमा उभिएका लहलहाउँदो बाली
बगाएछ थुप्रै लत्ता–कपडा ।
तर अझै पनि
अशान्त भोकलाई गाउँलेको पेटमा अल्झेको देख्छु
निर्वस्त्र नाङ्गोपनलाई
टाँस्सिएको भेट्छु पीडितका अङ्गमा ।

साँच्चै
थुप्रै थुप्रै बेथितिलाई
कहाँ बगाउन सक्दो रहेछ पहिरोले !?