ढुङ्गा र फूलहरू / चन्द्र गुरुङ
ढुङ्गा भएर बाँच्न
धेरै–धेरै सजिलो छ
कुनै अन्धभक्तले आफ्नो मन–मन्दिरमा
देवता बनाएर पूजा गर्न सक्छ
रगतले मातेको इदि अमिनद्वारा
आफ्नो सुरक्षार्थ हतियार बनाएर
निर्दोषमाथि
नयाँ सामाजिक अभ्यासको प्रहार गर्न सक्छ
र कुनै स्वार्थीले
आफ्नो स्वार्थको खुट्किलो उक्लन
बाटो–दोबाटोहरूबीच
मूर्ति बनाएर उभ्याइदिन पनि सक्छ ।
ढुङ्गा त
डाँडामाथि देउरालीहरूमा
देवता बनी मौन–मौन बसिदिन्छ
ऊ देख्दैन –
मान्छेले मान्छेलाई मारेको
र अशक्तको छातीमाथि लात्तीहरू बज्रिएको ।
ढुङ्गा त
कुनै अत्याचारीको हातमा हतियार बनेर सजिदिन्छ ।
उसलाई त रगत पाए भो
ऊ हेर्दैन रगतको रङ्ग
र उसलाई मतलब छैन रगतको जातसित ।
ढुङ्गा त
चोक–चोकमा
ठूला–ठूला मूर्ति बनेर उभिदिन्छ ।
ऊ बुझ्दैन–
कसैले त्यो मूर्तिसँग अत्याचारको विरोधमा
एकमुट्ठी आन्दोलन खोज्छ
कुनै दिशाविहीन जीवनले
एउटा निश्चित दिशा माग्छ
र शोषितहरूले जुलुसहरूमा
एक कदमको साथ चाहन्छन् ।
ढुङ्गाका मूर्तिहरू त
बस चुपचाप उभिदिन्छन्
र अन्योल वर्तमानको मौन–मौन साक्षी बनिदिन्छन्
ढुङ्गालाई कसैको मतलब छैन
त्यसकारण
ढुङ्गा भएर बाँच्न धेरै–धेरै सजिलो छ ।
तर त्यसको विपरीत
एउटा फूललाई
फूल भएर बाँच्न धेरै–धेरै पिरलो छ
फूलले जीवनलाई बुझेको हुन्छ
र जन्मदेखि मृत्युसम्म
जीवनलाई पल–पल बाँचेको हुन्छ ।
जीवनको सुरुआतमा
धरतीमा नयाँ जीवनको किरण पुग्नुअगावै
स्वागतार्थ फूलको ओँठहरूमा मुस्कान प्रस्फुटित हुन्छ
जीवनको अन्तमा
जीवनलाई विदाइ गर्न
फूलका आँखाहरूमा शीतको आँसु टल्किन्छ
र जीवनभरि फूल
कहिले हाँसेर
त कहिले रोएर बाँचिरहेको हुन्छ ।
फूल अर्काको दुःखमा आँसु झार्छ
र अर्काको खुसीमा हर्षले विभोर भइदिन्छ
पीडितले चालेका आन्दोलनहरूमा
जुलुस बनेर हिँडिदिन्छ
कहिले नारा बनेर थर्किदिन्छ
र कहिले भाषण बनेर चर्किदिन्छ ।
फूलहरू
कहिले पनि ढुङ्गाझैँ चुपचाप बस्दैनन्
सधैँ–सधैँ काँडाले भरिएका बाटाहरूमा
फूलका कोमल खुट्टाहरू
आततायी वर्तमानको विरोध गर्दै हिँड्छन्
र मौन उभिएका मूर्तिहरूको घाँटी चुँडाउन
चोकतिर अग्रसर रहन्छन् ।
फूलहरू
संवेदनहीन देवता
र चण्डाल पुजारीहरूलाई नङ्ग्याउन
मन्दिर बनी उभिएका दरबारतिर बढिरहन्छन्
त्यस कारण
एउटा फूल भएर बाँच्न धेरै–धेरै गाह्रो छ ।

