भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तस्बिर / चन्द्र गुरुङ
Kavita Kosh से
मैले
जीवनभरिको कमाइले
यो सहरमा एउटा सुन्दर घर बनाएँ
सबैले तारिफ गरे–
वाह ! क्या विशाल घर ।
मैले
रातदिन मेहनत गरेर
अकुत धन जोडें र, एउटा कार किनें
सबैले ताली पड्काए–
वाह ! क्या सानदार कार ।
सधैं
एकोहोरो लागिरहें
थुप्रै धनार्जन गरें
सबैले भने–
वाह ! कति अपार सम्पत्ति ।
मैले
बहुमूल्य लुगागहनाले
आफूलाई सजाएँ र सिँगारें
सबैले प्रशंसा गरे–
वाह ! क्या राम्रो डिजाइन ।
मैले
आफ्नो सन्तानको बिहे–भतेरमा
इज्जतको लागि बगाएँ पानीसरह पैसा
सबैले मज्जा लिँदै भने –
वाह ! क्या भव्य पार्टी ।
र, आज–
मैले एक गरिब असहायलाई
मानवताको खामभित्र राखेर दिएँ न्यानो मुस्कान
हेर्दाहेर्दै
उसको मुटुको भित्तामा मेरो फोटो छापियो
वरिपरि सबैले भन्न थाले–
वाह ! क्या राम्रो तस्बिर ।

