बतास / चन्द्र गुरुङ
उहिले यो बतास
सुगन्धको कोसेली बोकेर
हतार–हतार आफ्नो माइत हिँडेकी कुनै चेली झैं
आउँथ्यो सुमधुर गीत गुन्गुनाउँदै वनको बाटोभरि ।
जहिल्यै आउँदा, यो बतास
आफ्नो यौवनको उन्माद सम्झेर
झोक्रिएको बूढो रूखलाई
पछाडिबाट मायालु धाप हान्न झस्काउँदै आउँथ्यो ।
देउरालीको चौतारीमा
गोठालाहरूमाझ जुवारी लाउँदै आउँथ्यो
यौवनको सँघारमा टेक्दै गरेका युवक–युवतीमाझ
आउँथ्यो साट्दै मायापिरती ।
तर अचेल, यो बतास
मृत्युको त्रासले लखेटिएको कुनै घाइते सिपाही झैं
बाटोभरि गुहार माग्दै आउँछ ।
वरिपरि उभिएका हिमालपहाडका कानमा
पारि गाउँको नरसंहारको खबर
सुटुक्क सुनाउँदै आउँछ ।
चिहानडाँडाको मा Þ Þ Þथि मा Þ Þ Þथि
कुनै मृतकको वियोगमा
शोकाकुल मलामीहरूको हूलमा
गहिरो शोकधुन गाउँदै आउँछ ।
उहिले यो बतास
आँखाभरि स्वप्निल सपना बोक्दै
ल्याउँथ्यो बस्तीहरूमा देश ।
बतास फेरिएको छ !

