भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

महँगी / चन्द्र गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आजभोलि–
हर दिन,
हर पल,
हर मोड
र हर गल्लीमा
महँगीसँग जम्काभेट हुन्छ ।
म हिँडिरहेको हुन्छु
जीवनको बाटोमा
र महँगी
उडिरहेको हुन्छ आकाश छुन ।

महँगीको त्यो कुरूप अनुहार
देख्यो कि घिन लाग्छ ।
सधैँ–सधैँ
कामना गर्छु कहीँ कतै भेट नहोस् हाम्रो ।
तर आजभोलि–
हर दिन,
हर पल,
हर मोड
र हर गल्लीमा
महँगीसँग जम्काभेट हुन्छ ।

महँगीसँगको प्रत्येक भेटमा
तनका लागि नाना,
पेटका लागि माना
र ओतका लागि छाना
मेरा यी सांसारिक इच्छाहरू
मनको चिहानडाँडामा गाडिन्छन् जिउँदै ।

म सधैँ
महँगीसँग बच्दै
र जोगिँदै हिँड्न खोज्छु ।
तर जहिले
राशन,
ग्याँस,
पानी
र बिजुलीको लाइनमा
महँगीसँग मेरो जम्काभेट हुन्छ ।