भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

असीमको सीमा / दान खालिङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

असीमका हौ सीमा मेरा ! म ता तिमीमा पाउँछु सारा !
तिमीविना सुक्छ, सुक्छ मर्छ मेरो प्यारो जीवनधारा।
कति कति परिचय, कति कति आशा होला मधुरो, रहला मधुरो,
तिम्रो परिचय-आशा माया यो जीवनमा सँधै उज्यालो ।

मस्तै सुत्छ जब मस्त विश्व निविड अँधेरी नीरव हुन्छ
बली निस्कन्छन् असंख्य तारा, मेरो मनको वीणा बज्छ
तिम्रो माया गाउँछ गीत
म भावनाको रहन्छु बीच ।
मनमा जब जग अटाउँदैन छाती-माथ-मुटु फुट्न खोज्छ
दशै दिशामा हुन्छ तरंग प्राण तिमीमा उडेर पुग्छ
निहित तिमीमा मेरो सारा
विश्राम-शान्ति-धेरै-सहारा।

प्रभात-सन्ध्या-शरत्-वसन्त गाउँछन् सुन्छु तिनं गान
हिउँद-वर्षा-दिउँसो-राति, मौनस्वर, तीव्र अविरल गान,
अविरल अविरल तिम्रो माया अन्तर-स्पन्दनमा सुनिबन्धु
भुल्नै सक्तिन म तिमीलाई, भित्रैदेखिन् भरिन्छ चक्षु
एकान्तमा र वन-जंगलमा
रुन्छु तिमी भनी म हृदयमा
तिम्रो पुकार म सुनिरहेछु कर्म-शयनमा धीमा धीमा
फूल फलमा तिमी हाँस जाग, असीमका हे मेरा सीमा !
................................................
शारदा, २०१३, फाल्गुण २०११