भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आज तिम्रो ग्राहक मात्तिएको छ / विवश पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तृषित आँखाहरू—
पौडी खेल्न थाल्छन् जब
तिम्रो यौवनको मानसरोवरमा
त्यसबेला मलाई—
तृप्तिको एउटा शान्त नदी तरेको भान हुन्छ
सुन्दरी । अहिले मेरो आँखा मात्तिएकोछ ।

उत्तेजित हातहरू चोर स्पर्श गर्न
आवेगका उकाली उक्लँदै
कछुवाका चालसँगै जब हिँड्न थाल्छन्
तिम्रा सुकोमल वक्षसमीप—
सत्य, त्यसबेला मलाई—
प्राप्तिको एउटा ठूलो आकाश भेटेको भान हुन्छ
सुन्दरी । आज मेरो मन मात्तिएको छ ।

खन्याऊ—
खन्याउँदा हातका चुराहरू नबजाई खन्याऊ
आँखाका चञ्चल परेलीहरू
नचलाई खन्याऊ
तिमीले मुछेका सितनमा कतै—
तिम्रोरूप र यौवनको गन्ध नआओस्
अचेल सुकिलो वातावरण मात्तिएको छ ।
 
मातेका बेला हामी—
यस्तै अविवेकका कुराहरू गर्छौं
यस्तै अचेतनाका कुराहरू गर्छौं
नशालु आँखामा ‘पेन्डुलम’ भएर
हल्लिइरहेछन् तिम्रा रूप र यौवनहरू
बिन्ती, नरिसाऊ—
आज तिम्रो ग्राहक मात्तिएको छ ।