भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उल्कापात / केदारमान व्यथित

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

उच्छृङ्खल आँधीको घोडा जोतिदिएँ बादलको रथमा
ली हाँक युवक, इन्द्रेनीको लगाम पक्री तारापथमा !
विद्युत्‌को कोर्रा हिर्काऊ, अन्धकारको खाडल नाघ्नु छ,
आकाश चढी बिगुल बजाऊ भैरवको पौरुष डाक्नु छ।
टाप र पांग्राबाट उडेका धुलिको बबण्डरभित्र
नाचिरहेछन् लाखौं त्यान्द्रो गाई भृगुका कीर्ति पवित्र ।
आत्मदानमय कथा-कहानी बर-पर सबलाइ मुनाएर
दधीचिको पथमा हिँड्छु म पनि बज्र बनाऊ हाड लिएर।
प्राण चिराग बनाई बाले धरतीमा दीपङ्कर आई
पुतलीले मेला नभरुन्जेल डुल तन्नेरी, अलख लगाई।
युगको छातीमा लेखुन्जेल् कविले कुरु क्षेत्रका हाल,
मेरो मुटुमा रगत बचुन्जेल मौका छोपी पाप पखाल ।
छरी ज्वालामुखीका लावा आँखामा निर्धूम बलेर
पढ्छ रुद्रको दाहक महिमा निमेषमा विस्फोट बनेर ।
छन् शहीदहरूका पुरश्चरण इन्किलाबझैं अमर पवित्र,
कुमालकोटी आफ्नू सपना सम्झन्छ सुरक्षिन त्यसभित्र ।
सृष्टि समस्त बजाइरहेछन् दिग्दिगन्तमा दोल-मृदंग,
प्रतिपल धरतीको छातीमा रणको उम्लिरहेछ उमंग ।
गर्दछ वन गिरेको अभिनय शब्द-शब्द संघर्ष गरेर,
नाच्दछ झञ्झामा दावानल रूख-रूखमा रगड परेर ।
अट्टहास, चीत्कार, हुंकार मूल फुटेको यो संघर्ष
घात-प्रतिघातका घर्षणमा खोजिरे'छ आफ्नू उत्कर्ष ।
देखी नभवाट तमिस्राले रणको उच्छृङ्खल उत्पात
भयवश हुन्छ अकस्मात् उसको गर्भपात त्यो उल्कापात ।
पावसको घोडा पर्वतमा टाप बजाई हिन्हिनाउँछ,
भीर-भीरमा बृक्ष उम्खेली निश्वास पवन सन्सनाउछ,
काल सर्पको जिभ्रोजस्तै म्यानबाट निस्की तरवार
अन्धकारमा बत्ती बाली चम्किरहेछ वारंवार ।
स्वर्गङ्गाको पूर्वी तटमा श्रद्धेय शहीदहरू आऊ,
सगर्व दिन्छु रगतको तर्पण, मंगल गाई हर्ष मनाऊ ।
भुइँमा बुर्जावाला महलको त्यो कैलाश ढलेको हेर,
रातको श्रीपेच प्राचीले उता जलाइरहेको हेर ।
लौ तन्नेरी, हात बढाऊ मातृभूमिको किरिया खाई,
इतिहास र युग साक्षी राखी सुम्पिरहेछु मसाल जलाई।
निभे सराप्ला ऊषा फर्की दूर्वादलमा आँसु बगाई
सोध महत्त्व शलभसँग त्यसको पुण्य शिखामा कलुष जलाई।
सागरको ऐश्वर्य बगरमा वर्षाऋतुले नभरेसम्म
बालिरहू भगीरथ हिंड्ने पथमा यसलाई युग-युगसम्म ।

.........................
त्रिवेणी-बाट, २०१६