भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कलमवीर / माधवप्रसाद घिमिरे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 ह्वौँ गोर्खाली प्रखर खुकुरी-बीर हामी छँदैछौं
तड्की फड्की रिपुदल दली जंगमा गर्जदैछौं
नेपाली ह्वौँ अब कलमको वीर बन्ने छ पालो
बोलोस् हाम्रो हृदय सुरिलो एक मानो निगालो।

'सालैज्यू'-को मधुर सुरमा झ्याउरे गीत गाऔँ
टाढा छायातलतिर बसी खेत खोला जगाऔं
नेपालीका सुख-दुख सबै सम्झनामा सँगालौं
खोली बाहाँ विपुल दलले विश्व सारा अँगालौं ।

जो छन् अल्छी सकल तिनमा जोश मै बालिदिन्छ
जो छन् हुस्सू सकल तिनमा होश मै हालिदिन्छु
जो छन् लाटा सकल तिनको ओठ मै खोलिदिन्छु
नेपालीको सकल दिलको माँग मै बोलिदिन्छु ।

नेपालीको दिल-दिल नयाँ ज्योति सल्काइदिन्छु
नौलो आशा, नवरस, नयाँ चाख पल्काइदिन्छु
पेली थोत्रा नियम युगको चक्र पल्टाइदिन्छु
हाम्रो झण्डा अनि हिमचुलीमाथि झल्काइदिन्छु।

आओ नौला किरण ! मुरली टाकुरामा बजाओ
आमा ! आपना रगत, जनका प्राण छोरा जगाओ
निस्की आओ हिमगिरि-कुना-कन्दराका तपस्वी
आओ, आओ, तरुण युगका स्वप्नद्रष्टा महर्षि !

........................
भारती, १|११, वैशाख २००७