भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कलम रोक ! / विजय मल्ल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

युगको भावना, मार्न चाहने ए हत्यारा,
तिमी मलाई भन्छौ, “कलम रोक" !
म सोध्छु-
यो पहाडलाई, यो नदीनालालाई
यो खेतलाई, यो हरियाली बगैंचालाई यो सुन्दर सुन्दर
हावामा नाचिरहने, हावामा उडिरहने
हावामा बोलिरहने धानको बालालाई
किन मसान बनाउँदैनौ ?
किन मसानको आगोले भस्म गर्दैनौ ?
यदि कोही भोको भोकले चिच्याउँछ भने
त्यसको पेटमा विषको छुरी किन रोप्तैनौ ?
यदि शिशु दूधको मन्टा खोज्दै
मरेकी आमालाई चुस्तै कहालिन्छ भने
घाँटी अँठ्याएर त्यसको प्राण किन छिन्दैनौ ?
तर तिमी मलाई भन्छौ-कलम रोक !
 
ए हत्यारा !
फेरि म सोध्छु -
कोही मुख बाएर हात फैलाएर
श्रम गर्ने मौका नपाएर
भविष्यको सुन्दर सपना देख्न खोज्छ भने
त्यसको आँखाको गेडीलाई त्रिशूलले किन रोप्दैनौ ?
किन झिक्तैनौ?
त्यो नग्न कङ्कालमा
त्यो टेढो थाङने मानवमा
तिम्रो विरोधको आगो सल्कन सक्छ भने
ए बलिष्ठ, एकै घुस्साले त्यसको मिति किन पुयाउँदैनौ ?
तर तिमी मलाई भन्छौ- कलम रोक !

ए हत्यारा !
तिम्रो द्रोहमा जहाँ जहाँ रूख उम्रन्छ
त्यो जङ्गलमा डढेलो किन लाउँदैनौ ?
गरीबको छातीमा असन्तोषको ज्वाला जल्छ भने
दानवताको भावना उर्लन्छ भने
तिम्रो सिंहासनलाई खोस्न खोज्छ भने
तिम्रो ठूला ठूला यन्तहरूलाई हत्याउन रोज्छ भने
ए बलवान् ए पराक्रमी,
सम्पूर्ण संसारलाई नै किन ध्वंस गर्दैनौ ?
सम्पूर्ण विश्वलाई नै किन चकनाचूर पार्दैनौ ?
पनि तिमी मलाई भन्छौ- कलम रोक !

..................................................
(शारदा, १७।४, श्रावण २००८)