भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

क्रान्तिकारीको नाउँमा एउटा तार / युद्धप्रसाद मिश्र

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


सक्ने भै तिमी रक्तक्रान्ति गरने नीति छ नेता उठ
साँच्चै शोषणमुक्त बन्नु छ भने यौटै मियोमा जुट
पोल्ने छाती कुरा घटेका ननिका गाउँ लथालिङ्ग छ
च्यापेको अभिभारका हृदयको क्रान्ति त्यसै ठिङ्ग छ

खाँचो चाहिँ चिया र बिस्कुट परेका त्याग लुच्चो सरी
राखेझैँ छ शहीदका रगतमा हो र ठट्टा गरी
उठ्ने योग परी सके पछि पनि मान्छे पुगेको तल
हेर्दैछौ अखबारका तिमीहरू पल्टाई राशीफल

छैनौ झैँ तिमी देश मुक्तितिरको गर्ने प्रतिज्ञा कडा
छैनौ झैँ छ गरीवका मरणको दैलो अगाडि खडा
मर्ने वीर मरे वीभत्स गतिले ज्यूनेहरू जेलमा
पुग्नु झट्ट छ उम्लिनाकन सक्या खै क्रान्तिको रेलमा ?

छाप्रो चाहि हदैछ दिन्‌दिन खत्तम् दर्बार चाहिँ खडा
बारीका तटबाट बग्दछ कुलो रित्तो छ हाम्रो घडा
हच्केको क्षमता लिएर अगुवा बस्छन् कुनामा लुकी
सारा देश जगाउनु छ अहिले ताजा खवर यै फुकी