भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गब्रिऐला मिस्त्राल / परिचय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गाब्रिएला मिस्ट्रल - परिचय

नेपाली भाषामा

गाब्रिएला मिस्ट्रलको जन्म ७ अप्रिल सन्‌ १८८९ चिलीको भिकुन्नामा एक सामान्य परिवारमा भएको थियो।उनको वास्तविक नाम लुसिला दे मारिया देल पर्पेचुओ सोकोर्रो गोडोए अल्कायागा थियो।फ्रान्सिसी कवि फ्रेडेरिक मिस्ट्रल र इटालियन लेखक गाब्रिएले दि एन्नुनजियोका नाम मिसाएर उनले आफ्नो उमनाम राखेकी थिइन्‌।

मिस्ट्रल तीन वर्षकी छँदा उनका बाबुले परिवार त्यागेर गए।मिस्ट्रलले भिकुन्नाको एउटा विद्यालायबाट आफ्नो प्रारम्भिक शिक्षा पूरा गरिन्‌ र परिवार धान्नका लागि सानै उमेरदेखि शिक्षकको सहायक भएर काम गर्न थालिन्‌।

सन् १९०६ देखि उनले विभिन्न विद्यालयहरूमा शिक्षिकाको रूपमा काम गर्दै विश्वविद्यालयकी प्राध्यापकसम्म भइन्‌।मिस्ट्रलले शिक्षा र कविता दुबै क्षेत्रमा प्रसिद्धी हासिल गरिन्‌।सन्‌ १९३३ मा उनी चिलीको परराष्ट्र सेवामा प्रवेश गरिन्‌ र ब्राजिल, स्पेन, संयुक्त राज्य अमेरिकालगायतका मुलुकमा रहेर चिलीकी दूतका रूपमा सेवा गरिन्‌।

गाब्रिएला मिस्ट्रलको पहिलो कविता सन् १९०५ मा एउटा पत्रिकामा प्रकाशित भयो।सन्‌ १९१४ मा उनको पहिलो कवितासङ्ग्रह 'सोनेतोस दे ला म्युर्ते' (मृत्युका श्लोकहरू) प्रकाशित भयो।त्यसबाहेक 'देसोलाफियोङ्' (निराशा), 'पोएमा दे चिले' (चिलीका कविताहरू) लगायत विभिन्न छ वटा कवितासङ्ग्रहहरू प्रकाशित भएका छन्‌।प्रकृति, प्रेम, मातृत्व, दु:ख र यात्राहरूका वर्णन तथा ल्याटिन अमेरिकी पहिचान उनका कविताका प्रमुख विषयका रूपमा देखिन्छन्।

सोर्‍ह वर्षको उमेरमा मिस्ट्रलको भेट रेल्वेमा काम गर्ने एकजना युवक रोमेलियो युरेतासँग भयो र उनीहरू गहिरो प्रेममा परे।तीन वर्षपछि रोमेलियोले आत्महत्या गरे।त्यसले मिस्ट्रलको जीवन र कविता दुबैमा प्रगाढ प्रभाव पार्‍यो।मिस्ट्रलले आजीवन विवाह गरिनन्‌।

ग्राबिएला मिस्ट्रलले सन्‌ १९४५ मा सहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरिन्‌।सोबाहेक उनले कविता तथा शिक्षासेवा दुबैका कारण अनेकौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरिन्‌।

साहित्य तर्फको नोबेल पुरस्कार विजयी प्रथम ल्याटिन अमेरिकी महिला गाब्रिएला मिस्ट्रलको १० जनवरी सन्‌ १९५७ मा क्यान्सरका कारण निधन भयो।