भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

घर गएपछि / राजव

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अरूलाई विश्वास छैन
तर ऊ आफैलाई विश्वास छ
ऊ बाँच्छ
अस्पतालको सघन शय्यामा बाँच्छु भन्ने
विश्वास नछोडेर
ऊ अर्धबेहोस छ
र कुरिरहेछ अस्पतालबाट घर हिँड्ने समय
तर डाक्टरहरू भन्छन्
केही दिनपछि
ऊ मृत घोषित हुनेछ
त्यसकारण उसका निकटस्थहरू
ऊ नहुँदाको पीडा खप्ने अभ्यासमा लागिसके
तर ऊ अर्धचेतनमा सोचिरहेछ
अस्पतालबाट घर जानेछु
र जीवनलाई
ठीक मानिस भएर सपार्नेछु
ऊ सोचिरहेछ
बेला–बेला
सम्बन्ध बिग्रिएका सबैसँगको कटुता
मधुर गर्नेछु
र मायाका धेरै दृष्टिहरू
जम्मा गर्नेछु
घरको बूढो कुकुरलाई
आफ्नै हातले स्याहार्छु र
अर्को नयाँ छाउरो पाल्न थाल्नेछु
र मानिसको जीवनसँग जोडिने
पशुहरूको प्रेम बुझ्ने
सविस्तार कोसिस गर्नेछु
 ऊ सोचिरहेछ
घरमा पस्नेबित्तिकै
सबभन्दा पहिले
सब किताबहरूको
धूलो झार्छु
र तिनलाई
सफा कपडाले पुछ्दै
र्याफकमा राख्दै गर्छु
विशेष गरी कथाका, निबन्धका
कविताका, स्मृतिका पुस्तकहरू
चाहनासाथ देखिने, पाइनेतिर राख्छु
र नयाँ किताबहरू
छानी–छानी किनेर थप्छु
र सकभर सब किताबहरूलाई
आफूबाट ओझेल पर्न दिन्नँ
ऊ सोचिरहेछ
यो शय्याबाट घर गएपछि
साँझका/बिहानका
एक–एक प्रकृतिको स्वाद लिन्छु
र सखारका कोपिलाहरू
र सन्ध्याका वयस्क फूलहरू छुन्छु
हिउँ भएका/नदी जमेका
झर्ना बोकेका पहाडहरूको यात्रा गर्छु र
लेकसँग/बेँसीसँग/शिखरसँग भेट्छु
ऊ सोचिरहेछ
घर गएपछि
राम्रा साज र शब्दका
ह्दयले बुनेका र गाएका
सबै धुनहरू र गीतहरू सुनिरहन्छु
र बाँच्नुको स्वाद बराबर लिन्छु