भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

छैन / श्यामदास वैष्णव

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

परिस्थितिसित लड्दा-भिड्दा चोट अनेकौं लाग्यो होला
वैरीहरूसँग रहँदा-बस्दा हिलो र मैलो लाग्यो होला
तर घाउ र चोट हुँदैमा नसम्झ, हार भयो यसको-
किनकि फोहर बाँकी नै छ,
फूल फुलेको छैन ।

सर्दी गर्मी वर्षा हिंड्दा-डुल्दा शिथिल भयो होला तन मेरो
अनेक झन्झट बोकी हिंड्दा खिन्न भयो होला मन मेरो
तर तन मन खिन्न हुँदैमा नसम्झ, अन्त भयो यसको-
किनकि हट्न अंध्यारो बाँकी नै छ,
दिन उध्रेको छैन।

हो, ध्येय मरेको छैन,
सबै खराबी नाशी हेर्ने, सुन्दर दुनियाँ गर्ने भविष्य अझ उध्रेको छैन,
तर होश, हौसला, हिम्मत बाटो खोजी बढ्दै नै छ-
लक्ष्य अझै छ दूर कहीँ,
विजय भएको छैन ।
................................................
अन्तर्ध्वनि-बाट, २०१३