भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

देशप्रेम : केही उद्गार / कालीप्रसाद रिजाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

देश बन्छ तपस्याले निष्ठाले सत्प्रयासले
बन्दैन देश हल्लाले, भरौटेका जमातले
सच्चा हृदयले दोष भन्दिने बरु मित्र हो
शत्रु हो, घातकी शत्रु बढाइ मात्र गर्छ जो
 
बन्ला र देश शिक्षाले वेदान्त-उपदेशले ?
जब अर्ती दिने व्यक्ति स्वयं नै ती पतित छन्
बरु बन्छ निमुखाले, सोझाले अपठितले
दुई अमृत थोपाले परिश्रमी निधारको

गफले देश बन्दैन न त भाषणमात्रले
विरोध मात्रले हुन्न न त प्रस्ताव पासले
गर है आज भन्नेले आफूले गर्नुपर्दछ
मर है मर भन्नेले आफूले मर्नुपर्दछ

देशप्रेम कहाँ हुन्छ टोपी, दौरा, सुरालमा
देशप्रेम त्यहाँ हुन्छ मुटुको अन्तरालमा
जात नेपाली हो, नाम नेपाली भन्नुपर्दछ
तिम्रो सीप-पसीनाले नेपाल बन्नुपर्दछ

देशप्रेम त देखिन्न हिमाल र गुराँसमा
न त झ्याल र ढोकाका बुट्टा, डाँफे, मुनालमा
हजारौं गाउँका झुप्रा-छाप्रामा पुग्नुपर्दछ
करोडौं ढक्ढुकीलाई पहिले बुझ्नुपर्दछ

के खाए ती हिमालीले ? भोकै ती कसरी सते ?
ढुङ्गाको तकियामाथि निदाए, झिस्मिसै उठे
उकालो कसरी चढ्नु भारी वोकी निरन्तर
सोचेका छौ स्वदेशीहो ? भाइ हुन् ती सहोदर
 
सिम्रिक राष्ट्रको रंग, तिन्को सिम्रिक् कहाँ गयो
सूर्य-चन्द्र फलाक्नेहो । तिन्को सूर्य कता गयो
किन लड्छन् ती गोर्खाली, किन मर्छन् सधैभरि
किन बाँचिरहेका छन् अहोरात्र मरी-मरी

किन द्यौता रिसाएर तिन्का सन्तान मर्दछन्
यिन्को भाग कता जान्छ ? यी भोकै किन पर्दछन् ।
पीडा कस्तो सँगालेर हाँसेका छन् यहाँ नर
म सोध्छु राष्ट्रवादीहो। के सक्छौ दिन उत्तर ?

ल गाऊ वीरका गाथा, कविता देशभक्तिका
ल गाऊ गण्डकी, काली, मेची र सप्तकोसिका
बजाऊ थपडी साथी। वा वा क्या भव्य कल्पना
धिक्कार बुद्धिजीवीहो । अंजलीमा डुबी मर

आफै लेख जथाभाबी, आफै भट्याउ मक्ख भै
आफै हाँस करा गर्दै आफै सन्केर दिक्क भै
धनी, शहरिया, टाठा केहीले त बुझे पुग्यो
ढाके, झुमे र झाम्रेको वास्ता नै आज गर्छ को ?

हावा कागजमा हैन, माटोमा कविता गर
डिक कोदालीले देऊ, कुलोले भावना भर
नया खाद, नयाँ वीज प्रयोग गर खेतमा
नयाँ अर्थ, नयाँ रङ्ग देऊ रंग हरितमा

निरक्षरी दुईलाई पढाऊ विज्ञ हौ भने
दुई गाँस दुखीलाई देऊ सम्पन्न छौ भने
भोक, रोग अनि शोकविरुद्ध युद्धमा जुट
अत्याचार, दमन्लाई हुङ्कार, क्रुद्ध भै उठ

एउटा नेपाली रोएमा थोरै नेपाल डुब्दछ
एउटा शिर झुके मात्र थोरै नेपाल झुक्दछ
ज्यूँदो जाति उठयो आज, सीमान्त पार गर्न द्यौ
बाल मुस्कानको बत्ती कतै साँझ नपर्न द्यौ

आज नेपालको लागि केही नेपालीहो, गर
नेपाल पछि यो आज नेपालीहो, अघि सर
रगत् दियौ अरूलाई, पसिना देशमा छर
जन्मियौ पुण्यभूमिमा, सच्चा नेपाली भै मर