भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

धुरूधुरू नरोऊ आमा / धर्मराज थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौंला।
हृदयका तिम्रा फूल भाइ-बहिनीलाई
काख राखी आज खेल्छौं जिन्दगी फुलाई
नेपालको संसारमा शान राखी छोड्छौं
झलमल बत्ती बाली अन्धकार फाल्छौं ।
धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौँला ।

तिम्रो गीत गाई गाई हाँसी हाँसी मर्
यो पहरे छाती खोली फाँसी पनि चढ्छौं
झर्ने फूल यो जीवन बलि चढाइदिन्छौं
अशिक्षाको बाँध फोरी बाटो खुलाइदिन्छौ
धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौँला ।

बोल्छौं हामी हिमालको चचरामा चडी
खोल्छौँ हामी कारखाना लाखौँ कुरा पढी
एउटै गीत अलापेर खेल्छौं हामी भैलो
बलैसित उघारेर हृदयको दैलो
धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौँला ।

तिम्रो दूध अन्न जल बाँडीचुडी खान्छौं
कोही काख कोही पाख हामी किन हुन्छौं
तिमीलाई घुमाएर माथि माथि लान्छौं
निधारमा चन्द्रमाको टीका लगाइदिन्छौँ
धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौँला ।

झुल्के घाम रेशमको खास्टो ओढाइदिन्छौं
सात-रंगे इन्द्रेनीको हार लगाइदिन्छौं
झिलिमिलि शीत बिन्दु सितारा लाइदिन्छौँ
तिमीलाई संसारकी राम्री बनाइदिन्छौं
धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौँला ।

बन-तरी-लम्चोकोसे गाजल लगाइदिन्छौँ
अधरमा हिमालको लाली लगाइदिन्छौं
तराइको नीलोरंगी सारी लगाइदिन्छौं
कोरीबाटी नदीनाला चुल्ठी लर्काइदिन्छौं
धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौँला ।

........................................
पहाडी संगीत-बाट, २०१०