भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नितान्त एक्लै नै त हैन / कृष्णमोहन झा / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पत्याउँदिनँ म
आफ्नो अन्तिम यात्रामा मान्छेले
लाँदैन केही पनि आफूसँग, भन्ने
भनाइ र दन्त्यकथाहरूलाई ।

त्यस्तो जतनले जोगाएर उसलाई
जुन पृथ्वीले बनाउँछ मान्छे,
जुन नदीहरूले गराउँछन् सजल उसलाई,
जुन समय
उसको शरीरलाई कुँदिबस्छ दिनरात,
कसरी जान दिन्छन् तिनले उसलाई
नितान्त एक्लै ?

सारा संसार
व्यस्त रहेको हुन्छ निद्राको मेलामा जब,
पृथ्वीको एक कण
चुपचाप जान्छ मान्छेको साथ लागेर ।
जब सबै नदीहरू
आतुर भएर असीम गन्तव्यतिर दौडिरहेका हुन्छन्,
एउटा अक्षत थोपो
चुपचाप अलगिन्छ प्रवाहबाट ।
कसैलाई खियाउन अन्तै कतै गएको होला समय
भन्ने ठानिरहेका हुन्छन् जब मान्छेहरू,
अदृश्यरूपमा उभिरहेको हुन्छ एउटा मूर्तिकार
मान्छेको प्रतिक्षामा ।


लिएर जान्छ हरेक मान्छे
आफूँसँगै
श्वासभरिको ताप र जिब्राभरिको स्वाद,
शीत झर्दाको आहट जत्रै स्वर,
एक पात दूबोको हरियाली जति गन्ध,
छोरीको तोतेबोली सुन्दाको सुख
जीवनका केही पिल्स्याइ, र अलिकति दुःख
लिएरै जान्छ मान्छेले आफूसँग ।

लग्नेछु म पनि आफूसँग
कलमको टुप्पो जति घाम
आखाँमा अडिन सक्ने जति पानी
नङमा अटाउने जति माटो र
हत्केलामा भरिन सक्ने जति आकाश ।
नत्रभने मसँग के नै बाँकी रहनेछ र
जसका प्रमाणमा
अर्को संसारले मलाई, पृथ्वीको सन्तति भनोस् !