भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बिद्रोह विरुद्घ बिद्रोह / देवान किराती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ए विद्रोह !
फेरि आइस् तँ ?
तेरा मुलायम कुराहरू लिएर
मान्छेका खुसीहरूको ओठ टोक्न
मान्छेहरूका मुटुमा ढोल ठोक्न ।

ए विद्रोह !
अब त तँ चुत्थो भइसकेको छस्
अब म
फेरि तेरो आगमनमा
रक्तरञ्जित कुनै गीत गाउने छैनँ
कुनै नवीन गमनको आशामा
कुनै जुलुस र आमसभाहरूमा धाउने छैनँ
सत्य ! विश्वासको कुनै मुठी पनि कस्ने छैनँ ।

थाहा छ तँलाई ?
अब म
तेरा गालाहरू पनि मुसार्ने छैनँ
तेरा जर्जर छातीहरू पनि सुम्सुम्याउने छैनँ
तेरा तिघ्राहरू पनि थम्थमाउने छैनँ
सत्य भनेको
अब म तँसँग कुनै क्रीडा भोग्ने छैनँ ।

ए विद्रोह !
तँ अव कुनै मान्छेहरूको प्रिय बन्न सक्तैनस्
सिवाय पीडा !

तँ मेरो पनि पीडा होस्
म अब
तँसँंग खेलिरहनुभन्दा त रत्यौली
मेरी प्रेयसीसँग
समागम गर्छु
र जन्माउँछु
सुन्दर शान्ति ।