भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो / माधवप्रसाद घिमिरे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमालचुली मन्तिर पानी भर्ने पँधेरो।

लेकै हेरूँ लाली गुराँस बेँसी हेरूँ प्याउली
पीरती बास्ने परेवा बिरह बोल्ने न्याउली
हिमाल छुन्छ बेलुकी सप्तर्षिको ताँतीले
जुनेली रात बिताउँछन् गाउँदागाउँदै साथीले।

सम्झन्छु म हिमचुली आँसुको ढिका खसाली
यो बिरानो मुलुकमा बस्दैन माया बसाली
नौडाँडाको पारीमा प्रीतिको देश छ मेरो
दिलमा घाम नलागे जगत सारा अँधेरो।

मेरो कालीलेकैलाई ताकेर जाने बादल
हातले मैले नछोए पनि छ कति कोमल
दौडाई लान्छ मलाई यही बादलु छायाले
पार्दछ जहाँ इन्द्रेणी पारेला भिज्ने मायाले।

.............................................
इन्द्रेणी, १।२, बैशाख २०१३