भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लौ न मैले के गर्ने ? / युद्धप्रसाद मिश्र

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बाबु जान्छन् दाउरा काट्न
आमा जान्छिन् मेला
घरको धन्दा गर्दा गर्दै
जान्छ मेरो बेला
लौ न मैले के गर्ने ?

मनको कुरा उर्ली उर्ली
मनैभित्र थाक्छ
ठाडै खुट्टा मुग्लान्तिर
भागौँ भागौँ लाग्छ
लौ न मैले के गर्ने ?

आमा भन्छिन् छोरालाई
पढाउनु पर्छ
बाबु भन्छन् आकाशबाट
बर्सिन्छ र खर्च ?
लौ न मैले के गर्ने ?

पढ्ने कुरा गर्दाखेरि
झर्को फर्को गर्छन्
मलाई र आमालाई
आँखै मात्रै तर्छन्
लौ न मैले के गर्ने ?

इस्कुल जान्छन् गाउँघरका
सबै साथी भाइ
चराउनु पर्छ मैले
जिमिन्दारको गाई
लौ न मैले के गर्ने ?

मलाई भने सधैँभरि
पढूँ पढूँ लाग्छ
चाँजो पाँचो नमिल्नाले
मनको रहर भाग्छ
लौ न मैले के गर्ने ?

कैले काहीँ सिकाउँछन्
पुरेत बाजे आई
मनैमनले क ख भन्छु
चराउँदै गाई
लौ न मैले के गर्ने ?

बारखरी पढ्ने मेरो
सार्है ठूलो धोको
तर मैले बोक्नु पर्ने
सधैँभरि डोको
लौ न मैले के गर्ने ?