भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

विद्यार्थी आवाज / युद्धप्रसाद मिश्र

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


दानवताकन दूर धकेल्दै
जनजागृतिको दैलो खोल्छु
न्याय उठाउन बन्दूक खुकुरी
खुर्पि खुँडाको भाषा बोल्छु

नेपालीको ज्यान बचाउन
भर्तिकेन्द्रको बाटो मास्छु
शहर शहरमा जुलुस निकाल्छु
पर्चा छर्छु पोष्टर टाँस्छु

निम्न वर्गको ख्याति जगाउन
कलम रगड्छु आगो पार्छु
जरजर दुनियाँमाथि परेको
बर्बरताको शेखी झार्छु

वेग वेगका छाल उठेका
बाँध फुटेको धक्का झेल्छु
शहर गाउँका भेदभावको
गहिराइमा पौडी खेल्छु

हिजो गरेका जति बदलाको
रगत निचोरी धरती पोत्छु
धर्मपशु अनि धनपशुलाई
हलो भिराई पर्ती जोत्छु

आज पढेको शब्द शब्दले
जागृत गर्छु झुप्रा झुप्री
काला धनको छातीमाथि
खेल्छु कपर्दी उफ्री उफ्री

विद्यार्थी हूँ पीडित जनता
मुक्ति हुने अभिभारा बोक्छु
राजनीतिमा भाग नलेउ
भन्नेलाई ठोक्छु ठोक्छु

जागृतिको कर्नाल फुक्छु
भोका नाङ्गा अघि अघि सार्न
नसा नसामा रगत उमाल्छु
भोलीको दिन झलमल पार्न

सडे गलेका चिथरा भिर्ने
डोको बोक्नेको दुनियाँमा
हुने समर्पण प्राण बिछाई
हृदयदेखिको मेरो धामा

अवधि पुगेका पीडक दुर्बल
सके हुँदै गई क्षीण मनोबल
प्रगतिशीलको उदित किरण नव
निस्केको छु ज्योतित भइ अब

भूखमरीको शक्ति स्रोतले
देशद्रोहितको हरकत ढाल्छु
नूतनताको आवाहनमा
युग पुरानुको लाश निकाल्छु

देश चाहिँ यो कृषि प्रधान
किसान पाउँदैनन् खान
सहन शक्तिको परिधी टुट्नु
स्वाभाविक हो मैले उठ्नु

आर्थिक पीडा पर्दा असहन
हृदय जलेको देश छ दनदन
कटु अनुभवको आगोमाथि
खेल्नु छ मैले राख्नु छ ख्याति

भोका नाङ्गा दाजुभाइ
चाहिँ दुनियाँमा छरिएका
दूर देशका वेश्यालयमा
दिदीबहिनीहरू भरिएका

युवक हृदयले प्राण विर्सजन
गर्नै पर्ने ज्ञात भैसक्यो
नेपाली हूँ भन्न पनि अब
लाजमर्नुको बात भै सक्यो