भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शरच्चन्द्र / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ठूलो वृक्षको पात बुट्टे छहारी
वहाँ सत्य सौन्दर्यको छू विहारी
मगन् मस्त छु, छाल उछलन्छ मन्‌मा
शशी पात-झल्लपछाडी गगन्‌मा ।

कतै छैन थोप्ला पनी एक बादल्
छ आकाश नीलो सफा नीरको जल
सबै छन् अवाक्, बोल्छ यौटा पतिङ्गर
छ निमशब्दताको लहर्‌तुल्य तट्पर ।

सफा शान्त रजनी कुमारीसरी छन्
छरेका हिरा केशमा चम्कि झल्छन्
कुनै दिव्य सौन्दर्यको रूपतुत्य
छ पाषाण छोई प्रभाले प्रफुल्ल ।
 
शरद्की शशीका सुधाले उज्याला
म भर्छू बसी नेत्रका काँच-प्याला
मदीरा अहा ! स्वर्गको प्यूँछ आत्मा
अनी नाच्दछन अप्सरा पान पात्‌मा

ठूला फाँटवाला निदाई जुनेली
बने कान्तिपुर् अप्सरा-खेतबाली
पराले कटेरा सुनौला हवेली
खुले फूल फुट्कर् कवित्व-प्रभा ली ।

सुनेझैँ कतै लाग्छ कल्लोल निर्भर
निदाएर नाला गरेतुल्य बर्बर्
अनी कान थापे सुनिने मनोहर
मृदु स्वर् जुनैको सरी दिव्य निर्झर ।

सुखी पात लोलाउँदा छन् समस्त
विलासीपनामा बनी लस्त मस्त
जलप्झै छ मानन्दको भूमिमाथी
झलक् दिन्छ यो बालुवा भाँति भौति ।

दुखेको दिलको कुनै दर्दजस्तो
छ जो शैल पहरा ठूलो धाउजस्तो
त्यही कौमुदीको मलम्‌ले सफा छ
अहा ! चाँदनी क्या दुखीको दवा छ ।

कडापन कतै छैन, कोमल् कला छ
कुँदेको कलाभासले झैँ शिला छ
अहा ! सत्य सौन्दर्यको हासतुल्य
शशीको कला पूर्ण देखिन्छ झल्ल ।

कल्कलाउँदी ती कालावती
कल्कलाउँदी दूरमा नदी
स्वप्नझैँ जगत् एक छू फगत्
सत् छ सुन्दरै, सुन्दर छ सत् ।

...........................................
शारदा, १|१०--११, मार्ग-पौष १९९२