भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सबै भन्न सक्छु / कालीप्रसाद रिजाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म कुनै सिद्ध आत्मा होइन,
न कुनै दिव्य दृष्टि छ मसित
तर आँखा चिम्लेर भन्न सक्छु
यो देशमा कहाँ के भइरहेछ !

यतिबेला सिंह दरबारमा
राष्ट्रको ढुकुटीबाट
लाखौंलाख बाडिँदै छ
आफ्ना कार्यकर्तालाई
र एकाएक बिरामी परेपछि
फेरि अर्का नेता
दिल्ली प्रस्थान गर्ने भएका छन्
साउथ ब्लकमा उपचार गराउन
उता मन्त्री क्वार्टरमा
उद्योगपति व्यापारीहरू
यतिबेला ब्रिफकेसमा
शुभकामना चढाइरहेका छन्
मृर्गौला बेचेर फर्किएका नेपालीहरू
फेरि लुटिएका छन् सीमा क्षेत्रमा
अहिले ठमेलको मसाज पार्लरमा
संभोगरत छन्
एक प्रतिष्ठित समाजसेवी
र सुन्नुहोस्
एक महान् नेताका
होनहार सुपुत्र
दिउँसै फिट्टु भएर
एक्लै कोठामा कड्किरहेका छन् ।

कहाँ के भइरहेछ
सब भन्न सक्छु
नपत्याए फोन गरेर सोध्नुहोस्
भोलि अखबारमा पढ्नुहुनेछ
दुर्घटनामा परेर
नौ जना ठहरै भएको
झाडापखालापछि त खान नपाएर
चार जनाको प्राण गएको
र अहिले ठीक यसैबेला
विशाल आमसभामा
शीर्ष नेताहरू
थपडीको गडगडाहटबीच
एक-अर्कालाई
ध्ाराप्रवाह गाली गरिरहेका छन् !

अपहरणपछि तराईमा
फेरि एक जनाको हत्या भएको छ
उग्रभीडले चारओटा बसमा
भर्खरै आगो लगाइदिएको छ ।
र तात्तातो अर्काे खबर सुन्नुहोस्
मन्त्रिपरिषद्को निर्णयअनुसार
खुंखार अपराधी र तस्करहरूमाथि
लगाइएका सम्पूर्ण अभियोग
सरकारले फिर्ता लिने भएको छ
र अन्ततः
छोरीलाई उपप्रधानमन्त्री बनाउने सहमतिपछि
सरकार गिर्ने सम्भावना पनि
तत्काललाई टरेर गएको छ

तर भन्न नसक्ने कुरा एउटै छ
मैले भन्न नसक्ने कुरा एउटै छ-
यो देशको के हुन्छ ?
त्यो म भन्न सक्दिन
साम्प्रदायिकता, जातियता, क्षेत्रीयतामा
जीर्ण हुँदै गएको
वैमनस्य र द्वन्द्वमा
चर्कँदै चर्कँदै गएको
यो देशको के हुन्छ ?
यसको अखण्डता र सम्प्रभूता
रहन्छ रहँदैन ?
त्यो म भन्न सक्दिन
यसको लागि त
तपाईंहरूले नेताहरूसित सोध्नुपर्छ
राष्ट्रको नाममा, जनताको नाममा
सत्य निष्ठाको शपथ खाएका
नेताहरूसित सोध्नुपर्छ !