Last modified on 9 मार्च 2015, at 13:59

वसन्त कोकिल / लेखनाथ पौड्याल

Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 13:59, 9 मार्च 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लेखनाथ पौड्याल |अनुवादक= |संग्रह= }...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

भरी लता वृक्ष विषे टनाटन
नवीन लाखौं फूल पालुवाकन।
वसन्त आयो कलकण्ठको अब
सुनिन्छ साह्रै कल कण्ठ-गौरव।।
अगाडि जो दीन बनी लुकीकन
बिताउँथ्यो केवल दु:खमा दिन।
अहो !! उही कोकिल हेर आज यो
प्रमोदले पूर्ण महासुखी भयो।।
बसी बगैंचा-बिच मोजमा परी
नयाँ कलीला सहकारमञ्जरी।
चपाउँदै मस्त भएर बेसरी
कुहूकुहू गर्दछ त्यो घरीघरी।।
चलीरहेको छ सिरी सिरी हवा
झुलीरहेछन् सब मञ्जु पालुवा।
जता दियो दृष्टि उतै खुसी मन
प्रमोदले पूर्ण नहोस त्यो किन?।।
समीरले पुष्प परागको झरी
लगाउँदा त्यो रसरङ्गमा परी।
झुलीरहेको छ शरीर बेसरी
मुछेर तेही रजमा घरीघरी।।
पिएर सा--नन्द रसालको रस
घुमाउँदै नेत्र दुवै मदा-लस।
सहर्ष खोलौं सुरिलो गलाकन
घनक्क घन्काउँछ त्यो सबै वन।।
घरीघरी भुर्र उडी अलीकति
घुमेर शाखान्तरमा यताउति।
बडो बहाडी रसिकै बनी तहाँ
ढलीमली गर्दछ पालुवामहाँ।।
चुचो ठड्याईकन चट्ट मञ्जरी
ठुँगेर च्यापीकन देखिने गरी।
फरक्क फर्कन्छ घरी पछिल्तिर
प्रसन्नता-साथ लतारि पुच्छर।।
न शीत-बाधा, न त घामको डर
न बाग नङ्गा, न त वृष्टिको पिर।
बसन्तका गौरवले गरीकन
खुसी छ साह्रै कलकण्ठको मन।।