"... अनुहारहरू" / सानु शर्मा
छोपिएका छन्
मेरो वरिपरिका अनुहारहरू
उद्धरण चिन्हभित्र लुकेका वाक्यांशझैँ,
केही अंशलाई बाहिर कतै राखेर
केही अंशलाई देखिने गरी लुकाएर ।
कुनै अनुहारले निर्लज्जतालाई
त, कुनैले आफ्नो हिंसकतालाई छोपेका छन्
कुनैले इर्ष्यालाई
र, कुनैले अहङ्कारलाई लुकाएका छन् ।
कुनैले मुस्कानको हँसिलो आवरणभित्र
अनगिन्ती पीडालाई लुकाएका छन्
त, कुनैले उमङ्गको चित्रपछाडि
अपरिमित रिक्ततालाई छोपेका छन्,
कुनैले अपूर्णतालाई
र कुनैले लगभग आफ्नो सम्पूर्णतालाई नै लुकाएका छन् ।
कुनै न कुनै मुकुन्डोभित्र लुकेकै छन्
हरेक अनुहारहरू
तर बुझिन्छन् तिनीहरू बहिरबाटै,
जसरी बुझिन्छन्
उद्धरण चिन्हभित्र लुकेका वाक्यांशहरू ।
एउटा प्रश्नले सोधिरहन्छ मलाई -
यी अनुहारहरू कुनै दिन
आफैँ नै मुकुन्डोबाहिर निस्केलान्, या
यसरी नै सधैँ कुनै आवरणभित्रै लुकिरहन खोज्लान् ?
००००
(कलाश्री २०८१ मा प्रकाशित)