अकविता १ / निमेष निखिल
कविताको अज्ञात रङ खोज्दै छु आज
रङ रङ नहुनुको एउटा भाव
भाव भाव नहुनुको एउटा रङ
जिन्दगीजस्तै रङका रङहरू
रङजस्तै जिन्दगीका रङ्गहीनताहरू
मरन्च्याँसे समय
र सौन्दर्यका मलामीहरू
चौरभरि दुबो
र विस्तीर्ण काँडाहरू
काग, गधा, बाँदर र मलामीहरूको कोलाज
हरिया, पहेँला, राता, सेता, बैजनी रङहरूको
पट्यालाग्दो एउटा मिश्रण
अर्थात् आजको मान्छे
अर्थात् आजको युग
अर्थात् आजको आज
र अर्थात् अर्थातैअर्थात्-हरूको अर्थात्
एउटा अकविता
नबुझिने, नअर्थिने, नपढिने
दुरूह, दुर्बोध्य, बहुअर्थी, अर्थहीन
जसरी भन्नोस्, जे भन्नोस्
जिन्दगीजस्तै लाचार, विवश, निरीह।
अग्लाइहरू देखेर डर लाग्छ
अग्लाइहरू हिमालका
अग्लाइहरू पहाडका
अग्लाइहरू मान्छेका
अग्लाइहरू घातप्रतिघातका
अग्लाइहरू ऊँटका, जिराफका,
पिरामिडका र भवनहरूका
अग्लाइहरू थन्किएका पहाडहरू, घरहरू
ऊँटहरू, जिराफहरू
अग्लाइहरू गुमाएका मान्छेहरू
अग्लाइहरू हराएका विचारहरू
अग्लाइहरू लुटिएका सत्यहरू
अग्लाइहरू खोसिएका सार्थकताहरू
अग्लाइहरू नरहेका अग्लाइहरू
अग्लाइको नाममा पुड्काइ बोकेका
आफूलाई मान्छे भएको भ्रममा पार्नेहरू
र ऊहरू, महरू, तँहरू, सबैहरू
र हरू र हरू र हरू
र हरू र हरू
र हरू
जहाँ अग्लाइहरू स्वयम्
अग्लाइ रहन सक्दैनन्
त्यहाँ उभिन्छ जिन्दगीको अनर्थ
त्यहाँ भाँचिन्छ जिन्दगीको अर्थ
जिन्दगीजस्तै गरी
अर्थात् एउटा अकविता।
गीतहरूको लहर बगेको छ बस्तीमा
गीतहरूमा जिन्दगी कम छन्
मृत्युहरूको ओइरो छ
गीतहरूमा उत्साह कम छ
शिथिलता मनग्गे छ
शोकहरू, भोकहरू, रोगहरू
असमर्थता, आक्रोशहरू, झोकहरू
लबालब छन्
मस्त छन् गीतभरि
गीतहरू कोलाहल चढेर क्रन्दन गुन्जिन्छन्
गीतहरू छाती चिरिएर रगत चिच्याउँछन्
गीतहरू गीतजस्ता छैनन्
सुस्केराहरूले मलजल गरिएका गीतहरू
गाइरहेछन् ढुङ्गाहरू
नाचिरहेछन् ढुङ्गाहरू
रमाइरहेछन् ढुङ्गाहरू
कोही ढुङ्गाहरू महान् सङ्गीतकार छन्
मादल बजाइरहेछन्
बाँसुरी र हारमोनियम बजाइरहेछन्
मृदङ्ग, वीणा र एकतारे बजाइरहेछन्
ढोलक, तबला, कर्नाल, दमाहा र सहनाई बजाइरहेछन्
र सबैभन्दा बढी त
मान्छेको संवेदना बजाइरहेछन् ढुङ्गाहरू
ढुङ्गाहरूलाई ननाच भन्न सकिँदैन
ढुङ्गाहरूलाई नगाओ भन्न सकिँदैन
ढुङ्गाहरूलाई नबजाओ भन्न सकिँदैन
नरमाओ भन्न सकिँदैन
ढुङ्गाहरूले कसैलाई चिन्दैनन्
ढुङ्गाहरूले तँलाई चिन्दैनन्
ढुङ्गाहरूले तिमीलाई चिन्दैनन्
ढुङ्गाहरूले तपाईँलाई चिन्दैनन्
ढुङ्गाहरूले हजुरलाई चिन्दैनन्
ढुङ्गाहरूले ढुङ्गाहरूलाई चिन्दैनन्
ढुङ्गाहरूले मान्छेहरूलाई चिन्दैनन्
ढुङ्गाहरूले जिन्दगीहरूलाई चिन्दैनन्।
ढुङ्गाहरू त बज्रँने मात्र हुन्
झ्यालका सिसाहरूमा
जुलुसका पुलिसहरूमा
जुलुसका मान्छेहरूमा
ढुङ्गाहरूले पुलिसलाई पुलिस देख्दैनन्
ढुङ्गाहरूले जुलुसलाई जुलुस देख्दैनन्
वाह ढुङ्गा !
साला, मेरा आँखा पनि तेरै जस्ता भइदिए ?
मान्छे कामना गर्छ
सक्थ्यो भने खित्का छाड्थ्यो होला ढुङ्गा
तर गर्दैन ढुङ्गा
केही गर्दैनन् ढुङ्गाहरू।
एक जिन्दगी ढुङ्गा पुजेको मान्छे
ढुङ्गा पुज्नुको मोहभङ्ग नहुँदै सिद्धिन्छ
बस्तीमा गुन्जन्छन्
हरहर महादेव !
खै सुन्छ कि सुन्दैन ढुङ्गा ?
खै सुन्छ कि सुन्दैन महादेव ?
सुन्ने मान्छेको जयकार कहिल्यै गर्दैन मान्छे
पर्खन्छ त मात्र आफ्नै जयजयकार
पर्दा हालेर अनुहारमा
डोका डोका विश्वास रित्याएपछि
ढिला भइसक्छ मान्छे चिन्न
अबेर भइसक्छ मान्छे बुझ्न
बुझ्दा नबुझ्दै मान्छेले मान्छे
मान्छे समाप्त भइसकेको हुन्छ
रुनुको नियति काँध हालेर
अनि रुन्छ मान्छे
भिडमा। एकान्तमा।
गाउँमा। सहरमा।
बन्द कोठामा। खुला चौरमा।
मेलापातमा। घरधन्दामा।
बाध्यतामा। रहरमा।
घरमा। अरण्यमा।
र
जिन्दगीका हरेक प्रहरमा।
अनि केमा अनि केमा अनि केमा अनि केमा
अनि केमा अनि केमा अनि केमा
अनि केमा अनि केमा
अनि केमा
र एउटा सिङ्गो जिन्दगीमा।
यो रङ्हरूको कोलाज हो
यो अग्लाइहरूको कोलाज हो
यो गीतहरूको कोलाज हो
यो सङ्गीतहरूको कोलाज हो
यो नृत्यहरूको कोलाज हो
यो गाउँहरूको कोलाज हो
यो सहरहरूको कोलाज हो
यो भिडहरूको कोलाज हो
यो शून्यताहरूको कोलाज हो
यो ‘तँ‘हरूको कोलाज हो
यो तिमीहरूको कोलाज हो
यो तपाईँहरूको कोलाज हो
यो हजुरहरूको कोलाज हा
यो ढुङ्गाहरूको कोलाज हो
यो 'यो'हरूको कोलाज हो
यो 'हो'हरूको कोलाज हो
यो कोलाजहरूको कोलाज हो
यो एउटा अकविता हो।