अकविता ३ / निमेष निखिल
निर्वाध डुल्छन् आजकल
आतङ्कहरू हाम्रो चोकतिर जथाभावी
र पनि कविज्यू !
किन लेखिँदैन कविता ?
कविता लेख्नका लागि
फेरि कोसी अर्को गाउँ पस्नुपर्लाजस्तो
अथवा गाउँहरू फेरि कोसीमै गएर बस्नुपर्लाजस्तो
फेरि युद्ध बल्झेर
निहत्थाहरूको जिन्दगीमाथि धावा बोल्नुपर्लाजस्तो
सिङ्गो बस्ती पहिरोमा पर्नुपर्लाजस्तो।
मृत्युहरूको खेती जति फस्टाउँछ
त्यति राम्रा कविता लेखिन्छन् क्यारे
अहिले देश चुपचाप छ
कवि चुपचाप छन्
कविता चुपचाप छन्
समय चुपचाप छ
जिन्दगी चुपचाप छ
मान्छे चुपचाप छ
त्यसैले कविताहरू लेखिएका छैनन्
यस्तैमा मौका छोपेर लेख्नु छ
अर्को एउटा अकविता।
मेरा साथीहरू लक्ष्मीनगर गए
र ल्याए विपन्नताका समाचारहरू
मेरा साथीहरू अरब गए
र ल्याए पीडा भोगाइका वृत्तान्तहरू
मेरा साथीहरू अमेरिका गए
फर्केनन् ती उतै हराए
मेरा साथीहरू जापान गए
फर्केनन् ती पनि उतै हराए
म यतै छु सायद बाँकी छु
म यतै छु सायद त्यसैले हराउनबाट जोगिएको छु
र यस्तैयस्तै भनेर
यस्तैयस्तै सोचेर
यस्तैयस्तै गरेर
आफूलाई बुझाउने गरेको छु
आज ओठहरू हाँसो पर्खेर बसेका छन्
आज जिन्दगीहरू सुसमय पर्खेर बसेका छन्
आज मान्छेहरू सुदिन पर्खेर बसेका छन्
आउँछ आउँदैन हाँसो अनिश्चित छ
आउँछ आउँदैन सुसमय कुनै ठेगान छैन
आउँछ आउँदैन सुदिन केही पत्तो छैन
फेरि पनि आशा मार्न सकेका छैनन्
रामहरूले श्यामहरूले प्रकाशहरूले
तिमीहरूले हामीहरूले उनीहरूले मान्छेहरूले
सबैले
सबै सबैले
सबै सबै सबैले।
थाहा हुँदाहुँदै
झर्दैन र खान पाइँदैन
झर्ला र खान पाउँलाको लालसामा
निरीहता बाँचेका मान्छेहरूको जुलुस छ बस्तीमा
साँझ बिहान हराउँदै छन्
ससाना बालकहरू। स्कुले केटाकेटीहरू।
तन्नेरी छोराहरू। तरुनी छोरीहरू।
बुढा बाआमाहरू। बाजेबज्यैहरू।
भनौँ मान्छेहरू
छैन सुरक्षा कतै
जताततै बिगबिगी छ हराउनेहरूको
हराएकाहरूको पुनरागमन
लासहरूको रूपमा भएको
दुर्दान्त पीडा पनि छ मान्छेसँग
खेल्नै पर्ने जिन्दगीको बाजी खेलिरहेछन्
मान्छेहरू चाहेर नचाहेर।
गाउँभरि शून्यता छ
तर बस्तीले खोजेको शान्ति त्यस्तो हैन
सहरभरि कोलाहल छ
तर सहरले खोजेको जिन्दगी त्यस्तो हैन
तन्नेरी छोराहरूको लास
बन्द बाकसमा फर्कन्छ खाडी मुलुकबाट
मुटु भक्कानो पारेर
हेर्नै परेको छ बाबुआमाले
वैधव्यले थिचेर
जिन्दगीका बैँसालु रहरहरू
बाँच्नै परेको छ श्रीमतीहरूले
पालीमा जतनसाथ सिउरिएका सपनाका पोकाहरू
हुरीले उडाएजस्तै
मनको बाकसमा पोको पारेर थन्क्याइएका भावनाहरू
आँसुको बाढीले बगाए झैँ
बाँसझ्याङबाट उडेका
रङ्गीन सुगाहरूजस्तै रम्य जिन्दगी कल्पनु बाहेक
हरियो पहाडमाथि उडेका
सेता बादलहरूजस्तो बँचाइका सपना साँच्नु बाहेक
केही छैन मान्छेसँग अब बाँकी
सिबाय एउटा रित्तोरित्तो
र उदास जिन्दगी।
फेरि पनि मनको खेतसम्म
खनिरहेछ मान्छे आशाको कुलो
बिराइरहेछ भावनाका उजाड बगरहरू
छरिहहेछ उत्साहको बिउ
छातीभित्रका फोगटाहरूमा
सान्त्वनाको रुमालले पुछेर
उदासीका आँसुहरू
धैर्यको मलहम लगाएर
भित्री हृदयको उकुच पल्टेको घाउमा
गरिरहेछ मान्छे जिन्दगीको उकाली ओराली
भरिरहेछ उत्साहहरू पाइला पाइलामा
साँझ बिहान विश्वासको एउटा कुन्यु
उभ्याइरहेछ मान्छे आफ्नो सानो आँगनको छेउमा
लगातार लगातार।
भत्काएर सुरक्षा स्वरूप उभ्याइएको पर्खाल
काँडेतार र फलामे डन्डीहरू
भाँचेर मूलढोकाका गजबार, ह्यान्डिल र चुकुलहरू
असमयको आँधी हुर्हुराउँदै छिर्यो र भरियो
रित्ता भकारी, तसला र बट्टाहरूमा
मान्छेका नाममा उपहार स्वरुप
ल्याएको थियो आँधीले
अभावका भिन्न भिन्न परिकारहरू।
आँगनभरि छरिएका पारिजातका वास्नादार फूलहरूजस्तै
सुन्दर सपनाहरू उडाउँदै निस्क्यो आँधी
घरहरूबाट/मनहरूबाट
र सुरु भयो घरमा त्यसै दिनदेखि
अभावहरूको एउटा महा उत्सव।
तन्नेरी रहरहरूको मलामी गएर फर्केको मान्छे
उभिन्छ रुखको ठुटोजस्तै आँगनको डिलमा
र ओकल्छ घृणा पर्यावरण सौन्दर्यको विरुद्धमा
उसलाई आक्रोश छ
बेलाबेलामा सर्सराउँने बैँसका बतासहरू प्रति
त्यहाँ शोक प्रस्तावहरूको कुनै अर्थ छैन
भर्त्सनाका विज्ञप्तिहरूको कुनै प्रयोजन छैन
बाटो छोडेर बरालिँदै हिँडेको अराजक समय
फर्केला एक दिन फेरि आफ्नै बाटोमा
आशा मारेरै पो के हुन्छ र बुझेको छ मान्छेले
र गरिरहेछ ऊ आज पनि आशाहरूको खेती
चकमन्न रातको एकान्त चिन्तन गर्दागर्दै मान्छे
टाढिन्छ यथार्थबाट/आफैबाट/जिन्दगीबाट
जिन्दगीबाटै टाढिएर जिउनुको अनुभूतिमा
छुट्टै एउटा मज्जा छ
मज्जा, जो वर्णनहरूमा व्यक्त हुन सक्दैन
ढालेर सङ्गति र आचारका सीमाहरू
एकैछिन भए पनि अराजक बाँच्नुको आनन्द
वर्णनातीत हुन्छ
कति जेल्नु आफैलाई
सधैँ सधैँ उही कथित दायित्व र कर्तव्यका बन्धनहरूमा
आज मान्छेले उन्मुक्ति खोजेको छ
सबै सबै दायित्वहरूबाट, कर्तव्यहरूबाट
सबै सबै मर्यादा र इमानदारिताका सीमाहरूबाट
सबै सबै गौरवबोध र विगत गाथाहरूबाट
बोक्दा बोक्दा कर्तव्य र दायित्वको अजङ भारी
उभ्याउँदा उभ्याउँदा गौरवबोधका अग्लाइहीन पर्खालहरू
चिच्याउँदा चिच्याउँदा इमानदारिता र मर्यादाका
आवाजहीन आवाजहरू
मान्छेले एक जिन्दगी सिङ्गो मान्छे बाँच्न पाएन कहिल्यै
ए ! भ्रमहरूमा मान्छे बाँचेको अभिनय गर्ने
मेरो बस्तीका मान्छेहरू !
अब आओ
एउटा साँच्चैको सम्पूर्ण मान्छे बाँच्ने प्रयत्न गरौँ
त्यतै बिसाएर आओ
अतीत गौरवबोधका भ्रामक भारीहरू
त्यतै छोडेर आओ
कर्तव्य र दायित्वका बोिझला डोकाहरू
त्यतै थन्क्याएर आओ
मर्यादा र इमानदारिताका वैदिक ऋचाहरू
केही छिन त उन्मुक्त मान्छे बाँच्न खोजौँ हामी
हो आओ अब !
अन्तिमपटक नै सही
एउटा आकारहीन। भावहीन। लयहीन। सङ्गतिहीन।
रूपहीन। आवाजहीन। रित्तो। रित्तो र अनन्त रित्तो
अकविताजस्तै
हामी मात्र मात्र र मात्र शून्य बाँचेर हेरौँ
हामी मात्र मात्र र मात्र शून्य हाँसेर हेरौँ।