आलस्य हिँडिरहेको एउटा देश / निमेष निखिल
माइग्रेन र साइटिकाको स्थायी भारी बोकेर
बग्दै अनन्त पीडाको मेचीमहाकाली
र ठडिँदै वेदनाको गौरवशाली सगरमाथा
एउटा देश आलस्य हिँडिरहेछ।
धेरै 'पृथ्वी'हरूका सत्प्रयासबाट
अनेक बलभद्र, भक्ति, भीम र अमरका पराक्रमबाट
भानु, लक्ष्मी र मगमगाउँदा पारिजातहरूको भगीरथ प्रयत्नबाट
एउटा आकारको अस्तित्व ग्रहण गरे पनि
धोएर आँसुले वर्तमानको कालो आँचल
एउटा देश आलस्य हिँडिरहेछ।
सहेर कोलोनियल गिद्धे दृष्टि
भोगेर राणाकालीन कठोर यातना
खपेर निस्सासिँदा पञ्चायती कालरात्रिहरू
अनि पचाएर प्रजातन्त्रपछिको अनौठो गणतन्त्र
एउटा देश आलस्य हिँडिरहेछ।
त्यसो त हिमालहरू छन् देशमा
आँखाभरि/दृष्टिभरि
पहाडहरू छन् देशमा
हेराइको अनन्त क्षितिजसम्म
नदीहरू छन् आफ्नै साङ्गितिक लयमा बगिरहेका
तालहरू छन् आफ्नै परिधिमा मुस्कुराइरहेका
हरियाली ओढेर सधैँ इन्द्रेणी फुल्ने
प्रकृतिको अनन्त गहिराइ छ
शान्ति घन्काएर हजार आकाश चाहार्ने
परेवा र ढुकुरहरूको ताँती छ
देशमै छन् ध्यानस्थ बुद्धहरू
देवताहरूको फौज छ
देशका मान्छेभन्दा दसौँ गुणा बढी
र पनि बाटो बिराएर अक्करे भिरतिर लागेको अनजान यात्रीजस्तो
एउटा देश आलस्य हिँडिरहेछ।
हिमालहरू छन्
तर हिमालभन्दा अग्लो गरिबी छ यहाँ
पहाडहरू छन्
तर पहाडभन्दा जब्बर भोकहरू छन् यहाँ
नदीहरू छन्
तर नदीमा पानीभन्दा बढी आँसु बगेका छन्
तालहरू छन्
तर तालमा तालभन्दा गहिरा वेदनाहरू छन्
प्रकृतिको अनन्त गहिराइभित्र
अभाव र दुःखहरूको कहिल्यै अन्त्य नहुने मेला छ
सात रङका इन्द्रेणीभित्र
सत्तरी झमेलाहरूको कोलाज छ
शान्ति उड्ने परेवाको बतासमा
बारुदको गन्ध मडारिएको छ
ध्यानमग्न बुद्धकै छेउका गाउँबस्तीमा
राष्टि्रय हतियारको पुरुषार्थ देखाउने दाजुभाइ छन्
देवताहरूको भिडभाडमा
धर्म हराएको अमिलो अनुभूति बोकेर
एउटा देश आलस्य हिँडिरहेछ।
देशमा भत्काउन खोज्ने डिकन्स्ट्रक्टनिस्टहरूको भिड छ
पाखा लगाइएका छन् बनाउन खोज्ने अल्प सङ्ख्यकहरू
अभिभावक नभएको घरजस्तो
सधैँको रडाको छ छोराछोरीहरूबिच
काटाकाट छ मारामार छ लुछालुछ छ
अज्ञात भविष्य बोकेर
खाडीतर्फको उडान भरिरहेछन् तन्नेरी छोराछोरी दिनदिनै
कर्णालीभन्दा लामो
रोगी, अशक्त र माग्नेहरूको लस्कर लगाएर अघिपछि
एउटा देश आलस्य हिँडिरहेछ।
अनेक प्रयोगहरूले थिल्थिलिएर
अनेक वेदनाहरूले छट्पटाएर
अरूको हैन
आफ्नै आफ्नाको प्रतिघात सहेर
परिणामबाट बेखबर
परीक्षा दिइरहेको एउटा निर्दोष स्कुले विद्यार्थीजस्तै
अथवा
'भिक्षां देहि' का रागहरू अलाप्दै
दैलो दैलो चहारेर जीवन गुजार्ने कुनै सन्यासीजस्तै
अनुदानका लागि पसारेर याचक हातहरू
एउटा देश आलस्य हिँडिरहेछ।
चिथोरिएर भोकाहरूको रोटीजस्तै
विखण्डित हाँसिरहेछ देश
भत्किएर कहिले जातीयताको नाममा
चोइटिएर कहिले धर्म र संस्कृतिको नाममा
कहिले स्वायत्त राज्य
र कहिले सङ्घीयताको नाममा
केही दलीय भागबन्डा
र केही आरक्षित कोटाको चक्रव्यूहमा
फसेर अभिमन्युजस्तै
कहिल्यै उम्कन नसक्ने गरी
एउटा देश आलस्य हिँडिरहेछ।
लिएर आँखाभरि अटाई नअटाई सपनाहरूको लाम
मडारिएका छन् हृदयभरि असङ्ख्य भावनाहरू
फाँसीमा झुन्डिएको एउटा सहिदजस्तो
झुन्डिएर संसारकै सर्वोच्च सगरमाथाको
अक्करे भिरतिर कतै गुहार माग्दै
पखाल्दै/चोपल्दै राराको कञ्चन पानीमा
आफ्नै क्षतविक्षत अनुहार
थकित पाइलाहरूमा
एउटा देश आलस्य हिँडिरहेछ।
चौबाटोभरि डुलेका छन् भोकहरू
रावणहरूको प्रवचन
अखण्ड चलिरहेछ मन्दिरहरूमा
छाक टार्नकै लागि बेचिरहेछन् कौडीको भाउमा
हरेक रात चेलीहरू अस्मिता सहरका सडकहरूमा
स्वजनको घाँटी रेटेर
बहादुरीको विज्ञापन गरिरहेछन् गोर्खाली
गुहार ! गुहार !! चिच्याइरहेछ न्याय
मध्यरातका शून्य सडकहरूसित
अन्यायको झन्डा गाडिएको छ जताततै
गिद्धहरू मडारिएका छन् बस्तीमाथिको अन्तरिक्षमा
लोडसेडिङको उत्सवभित्र
हाडनाता करणी गरिरहेछ निर्लज्ज समय
देखेर पनि नदेखेजस्तो गरी
एउटा देश आलस्य हिँडिरहेछ।
टाढा जानु पर्दैन देश हेर्न
ढलसँगै अवैध नानीहरू बगिरहेको
बागमती हेरे पुग्छ
बिच सहरमा
फोहोरका डङ्गुर उधिन्दै
जीवन खोजिरहेका
देशको भविष्यका कर्णधार हेरे पुग्छ
सकिनसकी विकासको विज्ञापन गर्दै
घसि्ररहेको जनकपुरजयनगर रेल हेरे पुग्छ
गाउँदेखि सहरसम्मै फिँजिएका
समयका आधुनिक र उत्तरआधुनिक झाँकी हेरे पुग्छ
सभ्यताको नाममा दिनदिन नाङ्गिएर
एउटा देश आलस्य हिँडिरहेछ।
भोकका लप्काहरूमा
अझै आकाश छुने उत्साह बाँकी छ
व्यथाका पोखरीहरूको आयतन
झन् झन् बढिरहेको छ शुक्लपक्षीय चन्द्रमाजस्तो
विसङ्गतिहरूको फसल सप्रिएकै छ गाउँबस्तीमा
अपुरा इच्छाहरूको लाम
अझै नापिरहेछ सडकहरूको आयतन
यस्तैमा
पुछेर समयको मैलो आँचलमा रगतका आँसुहरू
एउटा देश आलस्य हिँडिरहेछ।
रेडलाइट एरियाबाट गिरफ्तार भएपछि
आत्महत्या गरेकी एउटी किशोरी
उसको झोलामा भेटिएको डाक्टरको पे्रस्त्रि्कप्सन
र बिरामी आमाको रोगको विवरण
मलाई देशको अनुहार त्यो किशोरीको अनुहारजस्तै लाग्छ
जुलुसमा गोली लागेर सहिद बनेको कुनै बेरोजगार किशोर
तलासीमा फेला परेका
रोजगारीको बजारमा नबिकेका प्रमाणपत्रहरू
र छातीमा जिम्दारले रखौटी बनाएकी प्रेमिकाको फोटो
मलाई देशको अनुहार त्यो किशोरको अनुहारजस्तै लाग्छ
दिनदिनै भोकले सहिद भएका सन्ततिहरूप्रति
मनमनै खुसुक्क समवेदना प्रकट गर्दै
एउटा देश आलस्य हिँडिरहेछ।
समेटेर कर्णाली पीडाहरू मुटुभरि
लुकाएर कोसी आँसुहरू चुपचाप चुपचाप
अझैँ औँसी च्यातेर पूर्णिमा फुलाउने रहर मारेको छैन देशले
सहेर असङ्ख्य घात प्रतिघातहरू
मनाएर आफ्नै सपनाहरूको मृत्यु उत्सव
निराशाहरूको पट्टेर जङ्गलभित्र
आशाका किरण खोजिरहेकै छ देश
देश अझै खोजिरहेछ सिर्जना फुलाउने हातहरू
देश अझै खोजिरहेछ उत्साह उमार्ने पाइलाहरू
देश अझै खोजिरहेछ हाँसो फक्रेका ओठहरू
देश अझै खोजिरहेछ इन्द्रेणी सपनाहरू
देश अझै खोजिरहेछ मसिना खुसीहरूको पुनरागमन
देश अझै खोजिरहेछ लक्ष्यगामी गोरेटाहरू
बाँडेर हरेक बैगुनका बदलामा गुनैगुनका सगुन
बाटो बिराएका आफ्नै सन्ततिलाई स्नेहपूर्वक
एउटा देश आलस्य हिँडिरहेछ।