एउटा नारा मान्छे : जिन्दावाद / निमेष निखिल
प्रस्थानको बिन्दु छोडेपछि
उकाली आउँछन्
ओराली आउँछन्
समथर मैदान र डरलाग्दा भिरहरू
छिचोल्नुको अर्को नाम
मानौँ जिन्दगी हो !
त्यसैले पनि
एउटा यात्राको नाम पाएको छ
जिन्दगीले।
जिन्दगी निर्द्वन्द्व छैन
र सायद हुँदैन यात्रा पनि
संवेदित/असंवेदित मनहरूको जमात
सृष्टिको आदिकालदेखि नै
द्वन्द्वैद्वन्द्वको एउटा महायात्रा
हिँडिरहेछ ... हिँडिरहेछ
अनादिको गन्तव्यतर्फ।
जिन्दगी
एउटा अजस्र बहाव नै त हो !
बग्नुकै एउटा महाभियानका
अथक उपासक हामी
बगेर
... अलिकता मायाको नाममा
... ... अलिकता भावनाको नाममा
... ... ... अलिकता आस्था/अनास्था
... ... ... ... अलिकता शङ्का/उपशङ्का
... ... ... ... ... अतिकता अस्तित्व/अनस्तित्व
र समग्र जीवनको नाममा
असरल्ल छरिदिन्छौँ हामी जिन्दगी
अस्तित्व नामेट हुन्छ
तैपनि बाँचिरहन्छ हाम्रो छवि
सुकृतिका मसिना आँखीझ्याल बाहिरको
उज्यालो संसारमा
सदासदाका लागि ...।
संसर्गको एउटा सुरम्य फूलबारी
जहाँ हरेक प्रयत्नहरूमा
रोपिन्छ 'जीवन' नामको एउटा सुन्दर फूल
धैर्यसाथ मालीहरू
हुर्काउँछन् फूलहरू
पुष्पित फूलको सुवासमा
बिर्सन्छन् आफ्ना व्यथाका कथाहरू
फूल ओइलाउँछ/झर्छ
र सँगै झर्छन् मालीका बैँसहरू
सान्त्वनाका शब्दहरू
नश्वरताको कुरा गर्छन्
क्षणभङ्गुरताको कुरा गर्छन्
कठै !
मनको बाँध
कहाँ पो बाँधिन्थ्यो र !
वेदनाका लहरहरू
परेलीका साँध नाँघ्छन्
र समवेत मिसिन्छन्
दुखको उत्ताल समुद्रमा
र त जिन्दगी यात्राजस्तो लाग्छ
यात्रा जिन्दगीजस्तो लाग्छ।
सम्भावनाका गोरेटाहरूमा मलाई
आशाका लहरहरू तरङ्गित भएको मन पर्छ
सृष्टिका रहरहरू उमङ्गित भएको मन पर्छ
पाइलापाइलामा
निबिड अन्धकार बाँचेर
कुनै निराशाका सीमातीत प्रदेशहरूमा
शासन गर्नु छैन मलाई
हरेक विध्वंसहरूको केन्द्रमा
एउटा सुन्दर फूल खोज्छु म
आशाको फूल। आस्थाको फूल।
मलाई बगर मन पर्छ
खस्रा मान्छेपाइतालाहरूले
मौन चुम्बन गरेका थिए बगरलाई पटकपटक
बगर जो हरियो हाँसेर
जीवन हुर्काउँथ्यो आलीहरूमा
बगर बन्नु कदापि रहर हुन सक्दैन बगरको
अनिच्छित समयको एउटा कहालीलाग्दो पाटो
भयङ्कर बाढीले सोहोरिएर
जीवन पनि बगर बन्न सक्छ
यस्तै लाग्छ
म क्रमशः अनुवाद हुँदै छु बगरमा
सम्भावनाका ससाना खोल्साहरूबाट
आशाको कुलो जोड्दै छु मेरो बगरसम्म
यस्तो लाग्दै छ
बगरहरू फूल फुलाउने तयारीमा छन्
यति बेला मेरो प्रयास
बगरलाई जीवन तुल्याउने
भगीरथ प्रयत्नमा जुटेको छ।
बाँच्नुको नाममा
उभ्याएर एकपछि अर्का अभिमानका पहाडहरू
अग्लिएको अनुभव गर्न चाहन्नँ म
गहिरिएर व्यथाका अथाह सागरहरूमा
बोधको स्वधोषित गर्व पनि गर्न चाहन्नँ
मलाई मान्छेहत्केलामा
मैत्री फुलेको फूलबारी मन पर्छ
मान्छेअनुहारमा
एउटा लयदार मुस्कान
र कलिलो शान्ति मुस्कुराएको
सौन्दर्य मन पर्छ।
भन्नेहरूले भनेका छन्/नभनेका हैनन्
आदर्शको सीमा दुर्लङ्घ्य हुन्छ
जीवन व्यवहारको कुरुक्षेत्रमा
सारा आदर्शहरू धुलिन्छन्
धमिराले खाएका सिमलका काठहरूजस्तै
सबै सिद्धान्तहरू भत्किन्छन्
पहिरो गएको पहाडजस्तै
तर पनि किन किन
मलाई धमिराले धुल्याएका काठहरूभित्र
अनन्त कलाको सिर्जना गर्न मन छ
भत्किएका सिद्धान्तहरूभित्रै
बाँकी जीवनको वृक्षरोपण गर्न मन छ।
तिम्रा आँखाले यसलाई धृष्टता देख्न सक्छ
देखोस्
सिसिफस उपक्रम भन्न सक्छ
भनोस्
म त कर्ममा आस्था राख्ने मान्छे
विश्वासमै सबैथोक देख्ने मान्छे
ढुङ्गामा खेती गरेर पनि
प्राप्तिको आशा राख्ने मान्छे म
तिम्रो हेराइमा मूर्ख पनि देखिन्छु होला
त्यही सही
म अझै गुलाफ रोपिरहेछु
सम्भावनाका बगरहरूमा।
धेरै लेखियो कविताको नाममा
जिन्दगीको दुर्दान्त पीडा
चाहेर नचाहेर
भोग्नु र देख्नुमा एउटा
ठुलो अन्तराल हुँदोरहेछ
निक्कै ठुलो अन्तराल
झन्डै धरती र आकाशजस्तो अन्तराल
वा भनौँ
आकाश र धरतीजस्तो अन्तराल।
भाग्नुको अथक उपक्रम गर्दा पनि
खै कहिल्यै टाढा जान सकिने रहेनछ मान्छेबाट
मलाई निर्माण गर्न पनि मान्छे नै आयो
र भत्काउन पनि
यत्ति न हो
भलै मलाई मान्छेले
बनाएको र भत्काएकोमा फरक लागेन
बनाउनु र भत्काउनु एउटै भएपछि
सबै आफन्त पो हुन्छन् कि क्या हो?
आत्मीयता उमार्न खोजेकै हो मैले
मनका करेसा वरिपरि
सद्भावको कुलो खनेकै हो
मनदेखि मनसम्म
गाएकै हो गीत बनाएर
मान्छेलाई नै गला भरिभरि
रमाएकै हो / रोएकै हो
मान्छेकै हर्ष र विस्मातहरूमा
एक्लै नै सही
मान्छेसँगै हिँड्न खोज्दै छु अझै पनि।
खै किन हो जिन्दगीको निस्सारतामा
धक खोलेर रुन मन लागेन मलाई कहिल्यै
जीवनको निरर्थकतामा
हीनता पाल्न पनि मन लागेन
सधैँसधैँ निस्सारताभित्रै
सार खोज्न मन लागिरह्यो
वेदनाको ढुङ्गे छाती फुटाएर
सुखै सुख खोज्न मन लागिरह्यो।
चासो छैन
के पाइयो र गुमाइयो
सबै सबै बाँच्ने अनुक्रमहरूको बदलामा
उभिँदा ऐनाअघि नझरोस् गुँरास आँखाबाट
मान्छेअघि उभिँदा मुस्कुराउन् फूलहरू
यत्ति हो।
आऊन् मान्छेघृणाका भँगालाहरू कति आउँछन्
मेरो आँगनतिर
बर्सून् अपमानका भदौरे झरीहरू कति बर्सन्छन्
मेरो धुरीमाथि
उठून् मुर्दावादमा कति उठ्छन् मुट्ठीहरू
मेरो विरुद्धमा
मैले त सधैँ प्रेमका भँगालाहरू बगाउन खोजेको छु
सम्मानका बादलहरू बर्साउन खोजेको छु
र सधैँसधैँ हातहरू
जिन्दावादमा उठाउन खोजेको छु।
र निरन्तर नारा लगाउन चाहन्छु म
पृथ्वी : जिन्दावाद !
देश : जिन्दावाद !
प्रेम : जिन्दावाद !
मानवता : जिन्दावाद !
र मेरो कविताको अन्तिम नारा
मान्छे : जिन्दावाद ! जिन्दावाद !! जिन्दावाद !!!