कवितामा देश / निमेष निखिल
अस्तित्वको विज्ञापन फलाकेर
थकित एक हुल कलेटी ओठहरू छन्
विनिर्माण आस्थामा
भत्काएर आफैलाई दिनदिनै
आफैलाई खोज्ने मान्छेहरू छन्
लाग्छ आज एउटा एउटा मान्छे
एउटा एउटा डेरिडा बाँचेको छ।
गाउँबस्तीमा दुखका निश्वासहरू डुलेको बेला
बतासभरि आतङ्क सल्बलाएको बेला
अन्धा धृतराष्ट्रहरू
पुल्पुल्याइरहेछन् दुर्योधनहरूलाई
नेपथ्यमा मिल्किएका छन्
विदुर र देवव्रत भीष्महरू
शकुनि कपटी पाशामै व्यस्त छ
उसैगरी मित्रताको दुहाइ दिइरहेकै छ
उसैगरी आगोमा घिउ थपिरहेछ
समयको एउटा एउटा कर्ण आज पनि।
साँघुरो डेराको जिन्दगी बाँचेर
देश बोक्ने सपना साँच्ने
तन्नेरी छोराहरू छैनन् अब सुदूर देशका कुना कन्दरामा
सुगन्ध बोकेर डुल्ने स्वच्छ पहाडी हावा छैन अब
यताका पाखा पखेराहरूमा
हिउँबिनाका बिरूप हिमालहरू
हाँसिरहेछन् आँखै अगाडि
मृगका पाठाहरू सरिरहेछन् बसाइँ
स्थायी हिसाबले, दिनदिनै जङ्गलबाट किताबका पानाहरूमा।
उदास इच्छाहरूको आमसभा डाकेर
मान्छे सुनाइरहेछ समयका कथाहरू
देश खोजिरहेछ समयको ऐनामा
आज पनि आफ्नो सक्कली अनुहार
घाउहरूको प्रदर्शनीजस्तो मात्र देखिन्छ
उभिएर ऐनै अगाडि आफैलाई हेर्दा।
लाग्छ
गाउँ जङ्गल पसेको छ रातारात
र जङ्गल देश निकाला गरिएको छ हेर्दाहेर्दै
आज देश गाउँदैन मान्छे
गाउँबस्ती गाउँदैनन् देश
मानौँ देश कतै कतै कतै छैन
देश त आज वार्षिक परीक्षामा सोधिएको
दस अङ्कको वैकल्पिक निबन्धात्मक प्रश्नमा सीमित भएको छ
र जेनतेन परीक्षार्थीको एउटा जमात
लेखिरहेछ देश। जोगाइरहेछ देशलाई आफ्ना उत्तरहरूमा।
आजकल हरेक रात
सपनामा आएर देश खोज्छन् मान्छेपुर्खाहरू
मान्छे मौन छ
आजकल विदेशी पर्यटकहरू देश सोध्छन् मान्छेसँग
फेरि पनि मान्छे मौन छ।
खोइ हाम्रो हिमाल ?
खोइ हाम्रा पहाडहरू ?
खोइ हाम्रो तराईको विशाल फाँट ?
खोइ हाम्रो आफ्नै आकाश ?
खोइ हाम्रो पहिचान ?
खोइ ?
खोइ खोइ ?
खोइ खोइ खोइ ?
प्रश्नैप्रश्नका तिखा काँडाहरू
रोपिन्छन् आँखाभरि सपनाहरूमा
मौनता शान्त समुद्रजस्तो उभिन्छ
चुपचाप चुपचाप।
एउटा शिक्षक देश पढाउँछ :
क्षेत्रफल...
अक्षांश...
देशान्तर...
अवस्थिति...
यस्तै यस्तै
के देश भनेको भूगोल मात्रै हो ?
के देश भनेको ढुङ्गा र माटो मात्रै हो ?
वनपाखा र नदीनाला मात्र हो देश ?
कि कङ्क्रिटको जङ्गल हो देश भनेको ?
समय प्रश्न सोधिरहन्छ
शिक्षक देश पढाइरहन्छ।
देश त भावना बन्न सक्नुपर्ने
मान्छे बन्न सक्नुपर्ने
उदास अनुहारतिर देश
एउटा स्निग्ध मुस्कान बन्न सक्नुपर्ने
भोकमा एउटा रोटी, एक घान मकै बन्न सक्नुपर्ने
असीम पीडाले एउटा बालक रुँदा
आमाको स्नेहिलो सुम्सुम्याहट बन्नुपर्ने देश
अज्ञान चिसिएका आँखाहरूमा
ज्ञानको कहिल्यै ननिभ्ने ज्योति बन्नुपर्ने देश
विडम्बना ! यहाँ त देशै पो छैन।
देश नभएपछि मान्छे कहाँ रहन्छ?
देश नभएपछि गाउँ र बस्ती कहाँ रहन्छन्?
देश नरहेपछि तिमी हामी कहाँ रहन्छौँ?
देशका छातीमा आत्मीयताका आँकुरा पलाउनुपर्ने हो
देशका हाँगामा सहअस्तित्वका फूलहरू फुल्नुपर्ने हो
देशका नसानसामा शान्ति सञ्चरित हुनुपर्ने हो
यहाँ त
द्वेषका पोखरी र तालहरू मात्र छन् देशैभरि
यहाँ त
तिरस्कार र घृणाका नदीहरू मात्र छन् देशैभरि
यहाँ त
भत्काएर निर्माणको आनन्द लिने निर्माता मात्र छन देशैभरि
यहाँ त
घर सल्काएर हाल सोध्ने आफन्त मात्र छन् देशैभरि।
देश दुखका सुस्केरा टेकेर
बिरान जीवनका बगर चहार्छ
भत्काएर मान्छेलाई
ध्वंसको गीत गाउँछ बेइमान समय
च्यातेर मान्छेखुसीहरूको सुरम्य क्षितिज
पीडाका रङहरू पोत्ने
भो त्यस्तो निष्ठुर आत्मीयता चाहिँदैन हामीलाई।
अनिकालका लहरहरू
देश डुल्छन् निर्बाध भने
अभावका भावहरू
धावा बोल्छन् सधैँ देशैमाथि भने
प्रतिकारमा एउटा जुलुस
मान्छेले निकाले के हुन्छ र ?
समस्याका उकाला ओराला
टेक्नै पर्छ सधैँ भने
किन अलापिरहने हामी मात्र
विपन्नताका रागहरू
बाँच्नुको नाममा
आफैलाई बन्धकी राखेर
किन गर्नु असमयको व्यर्थ प्रलाप ?
उभ्याएर सधैँसधैँ
अपमानको एउटा जङ्गे पहाड छातीभित्र
धेरै हिँडियो समयका गोरेटाहरूमा देश खोज्दै
फुलाएर आशा र आस्थाका गुराँसहरू आँखाभरि
धेरै छिचोलियो उज्योलो यात्राको सपना
बदलामा के पाइयो ?
सिबाय निराशाहरूको पुनरागमन !
के आशाका गीतहरूको जुलुसमा पहिलोचाटि
देश गुन्जाएको हामीले नै होइन?
हाम्रा गीतहरू नै हाम्रा हुन सक्दैनन् भने
हाम्रा गीतहरू नै देशका गीत हुन सक्दैनन् भने
नलेखौँ खोक्रा कविता र राष्ट्रगानहरू देशका नाममा।
चिथोरिएर, लुछिएर, लुटिएर
आज देश गुहार मागिरहेछ मान्छेसँग
देश हजार आयतनमा फैलन खोजिरहेछ
देश गुराँस सुनाखरीहरूसँग हाँस्न खोजिरहेछ
देश बिर्सन खोजिरहेछ
आफ्नै सन्ततिका आघातमय अतीतका वेदनाहरू
प्रसव वेदनाले आहत देश
छटपटाइरहेछ प्रसुति गृहको साँघुरो बेडमा यति बेला
ए मान्छे !
एकैछिन शान्त भइदेऊ
र देशलाई जन्माउन देऊ
अनन्त आशा र सम्भावनाहरूको एउटा सुन्दर क्षितिज
मान्छे हाँसेका सुन्दर हिमालहरू
सद्भाव गाउने कोइलीहरू
देश पर्खिरहेछ
निदाऊन् युद्ध खेल्ने छोराछोरीहरू
फर्कियून् बाटो बिराएका आफन्तहरू
उदाओस् समृद्धिको एउटा घाम
गन्जियून् सहअस्तित्वका गीतहरू
अस्ताऊन् रोग र भोकहरू सदासदाका लागि।
शान्त !
शान्त !!
शान्त !!!
देश प्रसव वेदनाले छटपटाइरहेको छ
कुनै रोगी प्रसुति गृहको साँघुरो बेडमा यति बेला।