भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तीजको लहर आयो बरी लै / चेतन कार्की

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गाऔँ स्वर खोलेर दिदी र बहिनी
नाचौँला मिलेर दामली सैनी
तीजको रहर आयो बरी लै
तीजको रहर आयो बरी लै

नौ डाँडा काटेर गएका चेली
भाग्यले भेट्न पाएछौँ फेरी
को कहाँ पुग्ने हो केही थाहा छैन
आगुम भेट हुने हो होइन
मनको धोको पुर्‍याई गाऔँ
स्वरमा स्वर मिलाई गाऔँ

तीजको रहर आयो बरी लै

भदौरे भेलले सकेन छेक्न
जन्मेको माटोमा चेलीलाई छेक्न
बिर्सेर आजलाई कर्करे सासु
आमाजु नन्दले दिएको आँशु
छिर्कीरी मारेर खेलौँला आज
जगत जमानी बिर्सेर लाज

तीजको रहर आयो बरी लै

विश्वासै बर्सेनी हाम्रा यी माइती
बाबा र आमा नि दाजै र भाइ ती
गर्दछौँ बिन्ती महादेव हामी
युग युग बाँचुन् शिरका स्वामी
निर्जल बसेर लिएको बर्त
सफल पारिदेऊ हे दुःखहर्ता

तीजको रहर आयो बरी लै

गाऔँ स्वर खोलेर दिदी र बहिनी
नाचौँला मिलेर दामली सैनी
तीजको रहर आयो बरी लै
तीजको रहर आयो बरी लै