भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

म एउटा च्यातिएको पोस्टर / वानिरा गिरी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ए मान्छे!
च्यातिएका वाक्यका टुक्राहरूका
पटक-पटकमा बेग्लाबेग्लै अर्थ नलाऊ
मैले आफ्नै कहानी बिर्सिसकेकी छु ।
अगेनाको छेउबाट
मीनपचासको ढिकीमा
एउटा बूढो
नातिनातिनालाई लोककथा भन्छ ।
पारोहाङ र लेम्पुहाङ ओर्लन्छ
बूढाका आँखाहरूमा मानौँ ऊ स्वयम्
एउटा शिव एउटा युगको
र सतीदेवीलाई उसले हराइसकेको छ
दक्षको यज्ञमा ।
ऊ कथा भन्छ-
लाल-हीराको
र आफै भगाउँछ लाललाई
शताब्दीअघिको सेतो घोडामा,
जसका टापहरूले समयका कानहरूलाई
अझ पनि हुकुम दिइरहेका हुन्छन्
उफ्! कति विवश
ती मान्छे/हामी मान्छे
यो कथा भन्ने बूढो मान्छे!
खोइ यसले काट्न सकेको
समयको तन्काइ र समयको हुकुमलाई ?
खोइ यसले भाँच्न सकेको
समयका हेलचेक्र्याइँ र समयको धोकालाई ?
मोजेजले कसरी समुद्रलाई काट्न सक्यो,
मोजेजले कसरी समुद्रलाई भाँच्न सक्यो ?

हो, यहाँ बहस गर्छु-
आस्था र अनास्थाको
विश्वास र अविश्वासको
मेरा सत्य र मेरा आस्थाहरू
लिलाम भइसकेका छन्
हरिश्चन्द्र घाटमा,
मेरो विश्वास पनि अब त
लुखुरलुखुर हिँड्छ
भतुवा कुकुरजस्तो
गल्लीका रछानमा ।

सराप लाग्छ मलाई
यो गर्भाशय र यी फूलहरूको
जो काम लाग्न नपाएर फालिएका छन्
फुटेको कसौँडीझैँ
जो काम लाग्न नपाएर सुकेका छन्
रसबिनाको दाखझैँ
शताब्दीपछि
म उभिइदिन्छु समयको ढिस्कोमाथि
एउटा लोककथा बनेर,
चोटका डोबहरूलाई छाम्दाछाम्दै
मेरो समय
ढ्याङप्वाल परिसकेको हुन्छ ।

मरुभूमिको छातीमा
मेटिनकै निम्ति
हाम्रा पैतालाहरू छापिएका छन्
च्च... च्च...
हिमालको चिसो बतास यो त रक्सीको मताइ
बिहानीमा यसले एउटा पीर थपेर जान्छ
विश्वास सपना ढुक्कता र अधिकारको
गर्भपात गरिदिएर
हलुङ्गो बनिदिन्छ ।

हामी लासहरूमाथि निर्धक्क हिँडिरहेछौँ
पृथ्वी पनि लासहरूको एउटा चिहान हो
हामी चिहानमा घर बनाउँछौँ
हामी चिहानमा भोज खान्छौँ
हामी चिहानमा बाँचिदिन्छौँ
हामी हाँक दिन्छौँ
आफ्नै लासलाई चिहानभित्रबाट
जनक राजाको दरबारको शिवधनुसितै
अब स्वयंवर छिनिसकेका छन्,
हिजोआज लवकुशहरू
टुकुचाको धमिलो पानीमा बग्न थालेका छन्
मान्छेको आस्थालाई अड्ने एउटा ठाउँ चाहिन्छ
बिसाउनलाई एउटा चौतारो चाहिन्छ
बाँच्नलाई पनि एउटा मोह चाहिन्छ- मृत्युको
एक सय वर्ष बढी जिन्दगी
उफ्!
कल्पना मात्र पनि पागल बनाउने एउटा बिरामी हुन्छ ।

जिन्दगी
यो व्याख्या होइन महाकाव्यको
भूमिका होइन आत्मकथाको
संस्करण होइन आफ्ना कृतिहरूको
म चुलाको प्वालबाट
एउटा जिन्दगी फुकिदिन्छु
र तपेसको चामल छड्काइदिन्छु
म ऐनाको सतहमा
एउटा जिन्दगीको सास फेरिदिन्छु,
र आफ्नै अनुहारलाई धमिलो देखिदिन्छु
म एउटा च्यातिएको पोस्टर
समयको भित्तामा ।

ए मान्छे!
च्यातिएका वाक्यका टुक्राहरूका पटक-पटकमा
बेग्लाबेग्लै अर्थ नलगाऊ
मैले आफ्नै कहानी बिर्सिसकेकी छु ।