भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रातो पछ्यौरी र छायाँहरु / विमला तुम्खेवा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


नीलो–नीलो रातमा
रातो पछ्यौरीभित्रको आँसु पुछ्नि असमर्थ छु
हामी —
हिँडेको नागीका साँघुरा बाटाहरु
इतिहासको कुनै रोदीघरमा
आज पनि —
त्यत्तिकै उमङ्गित वा उदास हुन सक्छ ।

तिमीले सिउरी दिएको लाली गुराँसको थुङ्ग
आज पनि —
कुनै भीरपाखामा रोइरहेको हुन सक्छ
विगतमा —
हामी हुस्सुको धमिलो छायाँमा
बगरको चप्लेटी ढु्ङ्गमा बसेर
कतिपटक —
फूलको आँसु पुछ्यौँ
घाम चुम्यौँ ........
र —
उदास–उदास खोलाको सुसाइहरुमा
जीवनलाई अनुवाद गर्‍यौँ

आज —
मसँग वियोगका मात्रै उदासीन साँझहरु छन्
विश्वास तोडिएका अनगिन्ती घातहरु छन्
आत्तिएर बितेका तरुनी रातहरु छन्
र छन् —
भ्रमजस्तै लाग्ने शालीन भ्रमहरु

यो एक्लोजस्तै सधैँ एक्लै
बाँचिरहने —
त्रिशुलीको बाटोजस्तो
जिन्दगी —

कतै घुम्तीमा दुखेको छ
कतै किनारमा फैलिएको छ
कतै जम्काभेटमा रित्तिएको छ

तर—
रित्तिनु पनि एउटा सम्पूर्णता रहेछ
रित्तिनु पनि एउटा प्राप्ति रहेछ
म एक्लै
सुनसान–सुनसान जस्केलामा उभिएर
भोगिरहेछु रित्तिएका तरुनी रातहरुलाई ।