वसन्त / शम्भुप्रसाद ढुङ्गेल
आंधीलाई चलाई अलि अलि अहिले आउँदो भो वसन्त
झोंका ख्वाई उठायो घन गगनमहाँ गर्जिगर्जी अनन्त ।
सारा भो बन्द खिडकी चमचम विजुली चम्किचम्की करायो
प्यारी टाढा हुनाले चररर मन भै आज मेरा डरायो ।।१।।
कालो आकाश सेतो विजुलि प्रिय छटा देखियो चम्कियेको
आँधीको भारि झोका विचविच छ जहाँ मस्त भै गम्किएको ।
झन् गर्जन्छन् गडयाङ डयाङ् गरि घन मनको आज सातो उडाई
हा ! हा ! भै निर्दयी झैं विधि मसित दियो प्यारि मेरी चुँडाई ।।२।।
झल्कन्छन् झल्झलाई विजुलि मन अती तडफडायेर जाने
वर्षन्छन् मेघधारा तरतर हुनगै होश यो खैंचि लाने ।
थर्कन्छन् दुःखि मेरा सरि मन अरुका होश सारा गँवाई
हा ! प्यारी ! आज छाडी किन यसरि गयौ निष्ठुरी भैमलाई ।।३।।
वर्षा तर्साइ आयो विरहरहमहाँ त्तिलाई डुवायो
प्यारीको चन्द्रमा झै्र मुखकन यसरी याद आई गरायो ।
झल्केका देखि विद्युत गरहरि हुनगै हाय ! आशा हरायो
पापीले प्यारिदेखी पर गरि यसरी हाल यस्तो गरायो ।।४।।
प्रिये ! छयौ कहाँ आज यस्ता बखत्मा
अभागी म झैं छैन कोही जगत्मा ।
अकेला म छू वेहिसाव् चल्छ आँधी
गरुँ हाय ! कस्को म सम्झी समाधी ।।५।।
उठयो मेघ गज्र्यो हरे ! मन् सताई
लियो होश मेरो सहज्मा उडाई
प्रिये ! भै अकेला गरुँ के म काम
भयेको मदन्को छु नाहक गुलाम ।।६।।
कठै ! सुन्दरी ! छाडि जाँदा मलाई
दियो हाय ! वर्षादले नै जलाई ।
कहाँ जाउँ कस्ले रहम आज गर्ला
तिमीदेखि टाढा हुँदा ज्यान मर्ला ।।७।।
अहो ! चम्कँदा आज विद्युत् गगन्मा
नछुट्ने हरे ! गड्दछन तीर मन्मा ।
प्रिये ! छू अकेला वह्यो जल् नयन्मा
कसोरी डरायेर जाऊँ शयनमा ।।८।।
(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)