भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ए जिन्दगी ! / सानु शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ए जिन्दगी !
अलिकति उत्साह भर
दे अलिकति प्रोत्साहन, र
अलिकति कारण दे मलाई
बाँच्नका लागि ।

आँशुले धोएर सुकाएको र
सुक्न नपाउँदै हराएको
धमिलोधमिलो मेरो मुस्कान
कहीँ कतै फेरि भेटिएछ भने
आक्कल झुक्कल नै सही
हाँसिदिउँला मै पनि ।

मेहनतले बुनेर अग्लाएको र
अग्लिँदा अग्लिँदै भत्किएको
टुक्राटुक्रा मेरा आशाहरू
कहीँ कतै फेरि जोडिएछन् भने
लड्दैपड्दै नै सही
बाँचिदिउँला म पनि ।

विचार गर
ए जिन्दगी !
एकपल्ट, राम्ररी विचार गर ।
००००