भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नसोध मलाई / सानु शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

नसोध मलाई कसैले
के हुन्छ, माया लाउनुमा ?

कसैको भर पर्नुमा
कसैलाई मुटु दिएर
बदलामा विश्वास लिनुमा
मुस्कानसँग आँसु साट्नुमा
एकअर्कालाई मनमा राख्नुमा
नसोध मलाई कसैले
के हुन्छ, माया लाउनुमा ?

बाँचेका पलपलहरू
एक अर्कासँग बाँड्नुमा
कसैको अँध्यारोमा
उज्यालो लिएर उदाउनुमा
जीवनमा इन्द्रेणी भर्नुमा
नसोध मलाई कसैले
के हुन्छ, माया लाउनुमा ?

कसैको मनमा रहनुको आनन्द
चुपचाप चुपचाप उठाउनुमा
कसैलाई मनमा राख्नुको खुशी
आफैँसँग मनाउनुमा
नसोध मलाई कसैले
के हुन्छ, माया लाउनुमा ?

जिन्दगीसँग अलिकति मुस्कान चोर्नमा
कसैसँग सँगसँगै बाँच्नमा
जीवनलाई सार्थक बनाउनुमा
नसोध मलाई कसैले
के हुन्छ, माया लाउनुमा ?

मायाकै लागि जिउनुमा
मायाकै लागि मर्नुमा
नसोध कोही मलाई
के हुन्छ माया लाउनुमा ?
००००