भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रेम दिवस / सानु शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

किनिए फूलहरू
प्रेमदिवस मनाउन भनेर
र, बाँडिए अरूअरू वर्षझैँ ।

तिमी पनि सोचिरहेछौ
फूलको गुच्छा उपहार दिन मलाई भने
फर्कर हेर
हरेक वर्ष फ्याँकिने गर्छन्
ती फूलहरू फोहोरको थुप्रोमा ।

उन्मादको एउटा लहर
हरेक वर्ष एकपल्ट भुलुक्क उम्लिन्छ
र दिन ढल्न नपाउँदै सेलाएर थेचिन्छ ।

त्यसैले,
चाहिँदैन फूलको गुच्छा उपहारमा मलाई
न त मुटुको आकारको कुनै चक्लेट नै चाहिन्छ ।

दिनै चाहन्छौ तिमी भने
बचन देऊ,
प्रेमले भरिएको मेरो यो हृदयलाई
जति नै वर्ष बिते पनि
उत्तिकै लगनले पढिरहने छौ,
र, उत्तिकै उत्साहले सम्झिरहने छौ
यसमा लेखिएका एकएक पङ्क्तिहरू ।

यसमा धड्किएका हरेक शब्द
केवल तिम्रा निम्ति हुन्
अनादिदेखि अन्तन्तसम्मका लागि ।

चाहे कुनै प्रेमदिवस आओस् नआओस्
चाहे कुनै प्रणयदिवस मानूँ नमानूँ
मेरा सबै दिनहरू
प्रेमले रङ्गिएका छन् र
प्रेमले नै रङ्गिरहने छन् ।

जहाँ म
तिम्रो साथलाई अँगालेर
तिम्रो प्रेमको सप्तरङ्गी नदीमा चुर्लुम्म डुबिरहेकी छु
बिर्सिएकी छु जीवनका तमाम दुःखहरूलाई
र बिर्सिएकी छु आफैँलाई पनि ।
००००