भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"जुग यसरी बदलिरहेछ / प्रवीण राई 'जुमेली'" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= प्रवीण राई 'जुमेली' |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

21:58, 2 फ़रवरी 2022 के समय का अवतरण

खरले छाएको झोपडी थियो
भोटेबार थियो छेकनी
लहरै भुईंमा सुतिन्थ्यो

कालान्तरमा त्यो झोपडी भत्काइयो
कोठै-कोठा भएको घर बनियो
झोपडीमा सुत्दा बाँटिने गफहरु
नयाँ कोठाहरुमा थुनिए
साथै रहेर पनि
एकलै-एकलै भइयो

बनमारा र उनिउ चुडाउँदै झोडीतिर पस्नेहरु
टिस्युपेपर समात्ने भए

हँसिया र कोदालो खेलाउने हत्केलाहरु
टेलिविजनको रिमोटसित पनि खेल्ने भए

परदेशीको चिट्ठी आइपुग्न महिनौं लाग्ने ठाउँमा
मोबाइल-फोनको रिङटोन बज्न थाल्यो

मेलापात र मरौ-परौमा
भेटिने मन र सम्वेदनाहरु
फेसबुकमा मात्र भेटिन थालियो

गुन्द्री र राडीको ठाउँमा म्याट्रेस
ललोक्सीको ठाउँमा अल्मिरा र ड्रअर्स
धिब्रीको ठाउँमा बल्ब
भाँडाको ठाउँमा प्रेसरकुकर
चुल्हाको ठाउँमा एलपिजी

कर्खनको ठाउँमा अल्छी
अभावको ठाउँमा सहुलियत
फसलको ठाउँमा दोकान
सन्तानको ठाउँमा ब्ल्याकमेलर

प्रेमको ठाउँमा व्यापार
विस्वासको ठाउँमा धोखा
र मनको ठाउँमा ढुङ्गा

खै जुग बदलिरहेछ है साथी
जुग बद्लिरहेछ।।