भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"सखा ! जून र घाम पनि हौ तिमी / वानिरा गिरि" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=वानिरा गिरी |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)
 
 
(कोई अंतर नहीं)

15:19, 3 सितम्बर 2024 के समय का अवतरण

भन्नेहरू त
कतिसम्म भन्छन्‌ भने-
तिम्रो हृदयको नदेखिने पानामा
सम्भवत: एउटा प्रणयी-अक्षर कोरिएको थियो रे !

कुन हौ त्यो अक्षर ?
के हो त्यो अक्षर ?
को हो त्यो अक्षर ?

तिमी स्वयम्‌को खोज त होइन त्यो अक्षर ?
अथवा मेरो तिमीसँगको
अनवरत यात्राको शिरबन्दी त होईन त्यो अक्षर ?

जो तिमी ‘आमाको सपना’ पछिपछि,
दौँडँदै-दौँडँदै, खोज्दै-खोज्दै, भौतारिँदै-भौतारिँदै
तिम्रो जन्मथलोमा आएकी थिई-

तिमीलाई जान्ने, तिमीलाई हेर्ने
तिमीलाई बुझ्ने, तिमीलाई बेहद माया गर्ने

एक बिछट्टै अद्भूत
नक्षत्रको आविष्कारमा
आफूलाई समर्पित गर्ने दृढ आत्मविश्वासका साथ
ढक्क जन्मेकी थिई त्यहाँ

तिम्रो हृदयको नदेखिने पानामा
एउटा सम्बोधन कँद्छु, खोप्छु-

सखा !
यस हिमवत्‌ खण्डका
शिखर-चुलीहरूलाई साक्षी राख्दै

तिमी मेरा संज्ञा हौ
म तिम्रो अभिशून्यताबाट अभिसिञ्चित

अभिमन्त्रित संज्ञा

मैरा निम्ति
शारदीय आकाशका
बडेमाको जून थियौँ तिमी

त्यति मात्र हो र ?
शाश्वत शारदीय आकाशको
जून र घाम पनि तिमी

ए !
प्रतीक र विम्बका अबोध अस्त्रधारी योद्धा
अक्षरका पण्डित्याइँमा जुङ्गा मुसार्ने
कसैले पनि छुन सक्दैन तिमीलाई
तिम्रो ओजस्वी प्रभामण्डललाई

म-
एक निस्पृह निहारिका तिमीमा

सखा !
जिन्दगीको सर्वाधिक उर्वर कालमा
भावना र संवेदनाले समृद्ध तिमी

आमाको
शक्तिशाली कोमल कोखमा
लहलह उम्रेका क्रान्ति जमराहरू
अँगालाभरी भरी सँगालेर

संसारै घन्कने गरी
कस्तरी गाएका थियौँ
‘आमाको सपना’को
त्यो दुर्लभ कर्खा-गान

‘त्यो आउँछ ?’
भनेर प्रश्न गर्ने तिमी
स्वयम्‌-
उत्तरमा रूपान्तरित भइरहेथ्यौँ

महाक्रान्तिका
अति ओजस्वी अक्षरहरूलाई
झण्डाकै फहराउँदै थियौँ तिमी

साइतको जुजुघौँ लिएर
उभिएकी तिमी प्रणयिनी
तिम्रो हृदयको नदेखिने पानामा
कोरिएको प्रणयी अक्षर त होइन ?

बिन्ती
नढाटी भन त-

त्यो अक्षरको नाम प्रणयिनी तै हो ?
त्यो अक्षरको नाम आमा नै हो ?

त्यो अक्षरको नाम क्रान्ति तै हो ?
त्यो अक्षरको नाम क्रान्ति मात्र त होवोइन ?

त्यो अक्षरको नाम महाक्रान्ति नै हुनुपर्छ ।
सखा !
घना अन्धकारले
यत्रतत्र ढाकिएको नक्षत्रमा
उधुमै उज्यालो सपनाको
एक प्रणयी फब्ल्याटो दियौ मलाई

अर्को फब्ल्याटो आफ्नै छातीमा टाँसेर
सात समुद्रको जलमय सतहमा
छप्छप्‌ छप्छप्‌ गर्दै
अद्यापि ओहोरदोहोर गर्दैछौँ तिमी
अद्यापि ओहोरदोहोर गर्दैछौँ तिमी ।

– प्रस्तुत कविता मेरो अती प्रिय र पूज्य कवी गोपालप्रसाद रिमालमा सादर समर्पण गर्दछु ।